विराटनगर, ७ चैत्र । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको टिप्प्णी गरे । उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे ।
उपप्रधानमन्त्री यादवले सीके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत संग्रह उल्लेख नभएको प्रष्ट पार्दै जनमत संग्रह र जनअभिमत फरक विषय रहेको बताए । उनले सीके राउतसँग भएको ११ बुँंदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया