एउटै मञ्चमा शेरबहादुर, प्रचण्ड र बाबुराम : विश्लेषण आ–आफ्नो

राजनीति

9/5/2019

काठमाडौं, १९ भाद्र । समता फाउण्डेशनले बिहीबारदेखि काठमाडौंमा तीनै तहका सरकार र संसदका जनप्रतिनिधिहरुको भेला आयोजना गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सभापति शेरबहादर देउवा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सुरुवात भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्र र धर्म निरपेक्षतामाथि आक्रमण बढिरहेको बताए ।

समता फाउण्डेशनले बिहीबार र शुक्रबार ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक दुई दिने कार्र्यक्रम काठमाडौंको पार्क भिलेज रिसोर्टमा आयोजना गरेको हो ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तहका सत्ता संचालन गरिरहेका जनप्रतिनिधिहरुले ‘एक्सन’मा नजाने हो भने प्रतिगमनकारीले ‘रियाक्सन’ गर्ने खतरा देखिन थालेको विश्लेषण सुनाएका छन् ।

प्रचण्डले भने– हिजो जनआन्दोलन र जनयुद्धबाट सत्ताच्युत गरिएका मान्छे चलमलाउन थालेका छन् । तर त्यस्ता प्रवृतिविरुद्ध हामी सबै राजनीतिक पार्टी एक ठाउँमा छौं भन्ने सन्देश त दिएका छौं । तर हामी जनप्रतिनिधिहरुले एक्सनमा गएर जनताको आकांक्षा पूरा गर्न थालेनौं भने अर्कोले रियाक्सन गर्छ र त्यो धेरै महँगो पर्छ । 

त्यस्तै मुख्य प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने अवस्था रहेको बताएका हुन् । 

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको संविधानबाट दलितलाई अधिकार दिलाउन गाह्रो रहेको भन्दै निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए । भट्टराईले शुरुमा राज्यका बिभिन्न तहमा दलितको प्रतिनिधिको तथ्यांक पेश गर्दै जातीय जनसंख्याका आधारमा त्यो हुन नसकेको बताए । उनले वर्तमान निर्वाचन प्रणाली कायम रहेसम्म दलितको प्रतिनिधित्व राज्यसत्तामा समानुपातिक नहुने पनि प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ