एकीकरणका विरोधीहरु कांग्रेस र कम्युनिष्टका दलाल हुन् : संयोजक यादव

राजनीति

1/31/2020

काठमाडौं, १७ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले समाजवादीसँग एकीकरणका विरोधीहरु कांग्रेस र कम्युनिष्ट पार्टीका दलाल रहेको आरोप लगाएका छन् ।

शुक्रबार मधेश भवनमा आयोजित नेपाल मधेशी निजामती कर्मचारी मञ्चको १३औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

संयोजक यादवले भने, ‘राजपा र समाजवादीबीच एकीकरणको विरोध गर्नेहरु कांग्रेस र कम्युनिष्टका दलालहरु छन्, उनीहरुले एकताको विरोध गरिरहेका छन् ।’

उनले नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राजपा र समाजवादीबीच एकताको विकल्प नरहेको बताए ।

‘हाम्रो मुद्दा मिल्छ, विचार मिल्छ भने किन एकता नगर्ने ?’ उनले भने, ‘पुरातनवादी र परिवर्तनविरोधी दलहरुसँग लड्नका लागि पहिचानवादी शक्तिहरुबीच एकीकरणको विकल्प छैन ।’

उनले राजपा र समाजवादीबीच एकताका लागि धेरै कुरा मिलिसकेको बताउँदै यो एकता प्रक्रियालाई यही वर्षभित्र टुंगो लगाउने दाबी गरेका छन् ।

मधेशी कर्मचारीहरुलाई यो एकता प्रक्रियामा मध्यस्तताको भूमिका निर्वाह गर्नसमेत संयोजक यादवले आग्रह गरेका छन् । साथै उनले अर्को कर्मचारी मञ्चको वार्षिकोत्सव मनाउँदा दुवै पार्टी एक भइसक्ने दाबीसमेत गरे ।

कर्मचारीहरुको हरेक समस्या समाधानका लागि राजपाले सशक्त भूमिका खेल्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत उपस्थित थिए । साथै, विभिन्न ट्रेड युनियनका पदाधिकारीहरु, राजपाका नेतागण र मधेशी कर्मचारी मञ्चका पदाधिकारीहरुसमेतले शुभकामना आदानप्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ