ओली सरकारमा त्रिपाठीको रहस्यमय ‘इन्ट्री’

राजनीति

11/21/2019

काठमाडौँ, ५ मंसिर । प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका हृदयेश त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

चुनावपछि पार्टी, संगठन र कार्यकर्ताबाट टाढिएका त्रिपाठीले आफ्नो राजनीतिक ‘स्पेस’को खोजी गर्र्दै अन्नतः नेकपाकै शरणमा पुगेका छन् ।

चुनाव अघि नै स्वतन्त्र राजनीतिक समहूको नाममा सक्रिय रहेका उनी ओली सरकारकाृ पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा छैटौँ वरियता पाएका छन् ।

यसअघि पटक पटक मन्त्री बनिसकेका उनी राजपा नेपाल परित्याग गरेर स्वतन्त्र हैसियतामा एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । स्वतन्त्र समूहबाट प्रतिनिधिसभामा त्रिपाठी र बृजेशकुमार गुप्ता निर्वाचित भएका थिए ।

स्वतन्त्र हैसियतमा चुनाव लडेपछि पनि उनी तत्कालीन एमाले र एकीकरणपछि नेकपामा प्रवेश गर्ने चर्चा हुँदै आएपनि उनको इन्ट्रान्स नेकपामा नभएपनि सरकारमा भने भएको छ ।

त्रिपाठीको कुनै दल नभएकाले उनको पदीय हैसियत नेकपाकै मानिनेछ । सरकारको कार्यशैलीको आलोचना समेत गर्दै आएका उनलाई ओलीले मन्त्री बनाएर सबैलाई चकित पनि बनाएका छन् ।

पछिल्लो पटक त्रिपाठी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनको राजनीतिक दल नभएपछि संगठन गर्न तथा विचार र मुद्दा प्रवाह गर्न पाएका छैनन् ।

सूर्य चिह्नबाट चुनाव लडेका सांसदको परिचयबाट मात्रै आगामी राजनीतिक यात्रा सहज नहुने उनले मधेशवाणीसँग पनि बताएका थिए ।

मधेशकै राजनीतिबाट पहिचान बनाएका त्रिपाठीलाई नेकपा प्रवेश अहिले पनि सहज छैन । उनी आफै भन्छन् कि नेकपा थारू र मधेशीबीच लोकप्रिय छैन र उनीहरूका लागि पार्टीको नीति, कार्यक्रम र व्यवहार नै छैन । त्यसो भए त्रिपाठीको नेकपाको सरकारमा सहभागिता किन भन्ने प्रश्न अन्योलमा छ ।

त्रिपाठीले मधेशवाणीसँग भनेका थिए–‘नेकपासँग मेरो राजनीतिक विचार मिल्दैन ।’ उनले आफू नेकपामा नपसेको र स्वतन्त्र सांसदको हैसियत रहेकाले आफूलाई स्वतन्त्र ढंगले राजनीतिक गतिविधि गर्न समस्या नरहेको उल्लेख गरेका थिए ।

लामो समय मधेशी राजनीतिमै लागेका त्रिपाठीले संविधान संशोधन माग पनि गरेको छ । प्रस्तावनाको भावनाअनुसार संविधानका धारा नरहेको उनको तर्क छ ।

प्रस्तावना अनुकूल संविधानको परिमार्जन र संशोधन हुन आवश्यक रहेको उनको भनाइ छ । त्यसभए सरकारमा रहेर त्रिपाठीले यी बुँदाहरूको कार्यान्वयन गराउन सक्ला ? उनका लागि यो ठूलो चुनौती हो ।

यसैबीच, नवनियुक्त हृदय त्रिपाठीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै नवनियुक्त मन्त्री त्रिपाठीले सिंहदरबार स्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा आर्थिक अनियमितता देखिएको र त्यसलाई व्यवस्थित गर्नु रहेको उनले बताए । स्थानीय तहमा जनप्रतिनिधि पनि नयाँ र कर्मचारी पनि नयाँ रहेकाले ठूलो मात्रामा गएको रकम पारदर्शी रूपमा खर्च हुन नसकेको अवस्था रहेको गुनासो आएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ