कांग्रेसमा १४औं महाधिवेशनको तयारीबारे छलफल

राजनीति

7/26/2019

काठमाडौं, १० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको १४औं महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समितिमा चार वर्ष कार्यकाल सकिन केही समयना मात्र बाँकी रहेको भन्दै केनद्रीय सदस्यहरूले महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका हुन् ।

पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको तयारीका विषयमा भएको छलफलमा केन्द्रीय सदस्य सदस्य नवीन्द्रराज जोशीले अधिवेशनको मिति पहिला तोक्नुपर्ने तर्क गरे ।

केन्द्रीय सदस्य महेश आर्चायले महाधिवेशन हुने एक वर्ष पहिला नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने विधानमा व्यवस्था रहेको नेतृत्वलाई स्मरण गराए ।

पार्टी विधानमा रहेका प्रावधानहरुलाई अध्ययन गरेर पदाधिकारीहरुले केन्द्रीय समितिको बैठकमा प्रस्ताव लिएर आउनु पर्ने धारणा राख्दै आचार्यले बैठकमा भने, ‘बैठकमा अजेन्डा होइन पदाधिकारीले प्रस्ताव लिएर अनुपर्छ ।’ अन्तरिम संरचना निर्माणदेखि महाधिवेशनका विषयमा प्रस्ताव लिएर आउन नेतृत्वलाई उनले सुझाए ।

बैठकमा केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टी विधानअनुसार एक वर्ष अघि नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको दोहो¥याउँदै बाँकी समयका लागि निर्वाचनमा जानुभन्दा सहमतिबाट अन्तरिम संरचना निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

अन्तरिमकालका लागि निर्माण गरीएका संरचनाले १४ औं अधिवेशन गराउने धारणा राख्दै समायोजन हुन बाँकी रहेका स्थानीय तहमा रहेका पार्टी नेतृत्वमध्ये सदरमुकाम, जेष्ठता वा ठूलो भूगोलका आधारमा नेतृत्व टुंगो लगाएर जानुपर्ने प्रस्ताव गरेका थिए ।

तीन विकल्पमा पनि सहमति जुट्न नसकेका स्थानमा मात्र निर्वाचन गर्ने विकल्पलाई खुला राखेर अन्तरिम संरचना निर्माण गर्नुपर्ने धारणा विकले राखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ