कम्युनिष्ट र कांग्रेसले नेपाललाई मागेर खाने देश बनाएका छन् : श्रेष्ठ

राजनीति

3/31/2019

बनेपा, १६ चैत्र । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूलाई समाजवादी भन्ने नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले नेपाललाई मागेर खाने देश बनाएको आरोप लगाएका छन् ।

उनले यहि शुक्रवार काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ४, १३ र १४ को संयुक्त वडा अधिवेशनहरूको उद्घाटन गर्दै भने, ‘विदेशी पुँजीपतिहरूसँग हात थापेर समाजवाद आउँदैन ।’

नेता श्रेष्ठले यस आर्थिक वर्षको अनुमानित बजेटमा ओली सरकारले देशको राजस्व ८३१ अरब र साधारण खर्च ८४५ अरब प्रस्ताव गरेको उदाहरण दिंदै देशको राजस्वले साधारण खर्च पनि धान्न नसकेको, देशको पहिलाको वचत पनि खर्च गर्न थालेको र आर्थिक रूपले सक्रिय युवा शक्तिलाई विदेश जान वाध्य पारेको बताए ।

नेपाली समाजलाई सबैलाई साथ लिएर चल्ने सङ्घीय समाज बनाएर मात्र देशमा सबैको प्रतिभा उपयोग हुने भन्दै उनले भने, ‘जबसम्म राज्यमा समानुपातिक समावेशी हुँदैन तबसम्म देश गरिबीबाट मुक्त हुँदैन र देश समृद्ध भए पनि समतामुलक समाज बन्दैन ।’ पार्टी निर्माणमा विचारको महत्त्वबारे उनले विचार सफ्टवेयर हो भने संगठन हार्डवयर भएको बताउँदै सहि बिचारले मात्र संगठनलाई ठिक ठाउँमा पुर्याउने बताए ।’

जिल्ला अध्यक्ष सिद्धि वहादुर जोशीको अध्यक्षतामा भएको उक्त अधिवेशनले बनेपा नगरपालिका वडा नम्बर ४ मा दिब्यश्वरी श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय, वडा नम्बर १३ मा ज्ञानकाजी डंगोलको अध्यक्षतामा १३ सरस्यीय र वडा नम्बर १४ मा कमल तामाङको अध्यक्षतामा १३ सदस्यीय वडा समिति निर्वा्चित गरेको छ ।

नव निर्वा्चित समितिलाई पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश उपाध्यक्ष विद्युत वज्राचार्यले शपथ ग्रहण गराउनुका साथै सक्रियतापूर्वक संगठन विस्तार गर्न आह्वान गरे । त्यसरी नै पार्टी केन्द्रीय सदस्य तथा ताम्सालिङ समितिका अध्यक्ष कृष्णकुमार घलानले अरु पार्टीको भन्दा आफ्नो पार्टीको एजेण्डा उत्कृष्ट भएको बताए ।

रहर सिं तामाङले सञ्चालन र विजया मानन्धरले स्वागत गरेको उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष वीरवहादुर तामाङ, उपसचिव रकम लामा, ताम्सालिङ समिति सदस्य शनी लामा, वुद्धिजीवी जगत श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो । अधिवेशनमा स्थानीय वुद्धिजीवी लव थापा पार्टीमा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ