छोरीलाई सक्षम र शिक्षित नबनाए प्रदेश समृद्ध बन्दैन : मुख्यमन्त्री राउत

राजनीति

9/19/2019

जनकपुरधाम, ३१ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकार छोरीहरुलाई शिक्षित र सक्षम बनाउने अभियानमा लागि परेको बताएका छन् ।

धनुषाको मुखियापट्टी मुसहरनीया गा.पा. ४ तुल्सीयाही स्थित देवनारायण माविमा आयोजित साइकल वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभएसम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार यस अभियानमा अघि बढेको बताए । उनले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण अघि बढाएको उल्लेख गरे ।

छोरीहरु शिक्षित र समक्ष भैसकेपछि उनीहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा पचास प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गर्दै मुख्यमन्त्रीले अबको १५ वर्ष पछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्ने दावी समेत गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ