जनकपुर, १४ चैत । जनकपुर बमकाण्डका मुख्य दोषी ठहराउँदै पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’सहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पूर्वराज्यमन्त्री टक्लासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
साहसहित अर्जुन भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झालगायतलाई जन्मकैदको फैसला सुनाइएको छ । ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् ।
जनकपुरस्थित रामानन्द चोकमा २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो भने अन्य ४० जना घाइते भएका थिए ।
शान्ति धर्नामा बसेकाहरुलाई लक्षित गरी गराइको बम विस्फोटमा परी चर्चित रंङ्गकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दिपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।
प्रहरीले घटनामा अनुसन्धान पश्चात २०६९ जेठ २९ गते पहिलो अभियोग पत्र दर्ता गराएको थियो ।
तपाईको प्रतिक्रिया