काठमाडौं, ३ बैशाख । जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सर्वोच्च अदालतले बाटो खुला गरेको छ ।
यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश गरी जिल्ला प्रशासन कार्यालयहरुलाई वंशजको नागरिकता नदिन अन्तर्कालीन आदेश जारी गरेको थियो ।
गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो ।
गृहको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा दायर रिटमा मंगलबार न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो ।
गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।
मंगलबार पक्ष र विपक्ष दुबै पक्षसँगको छलफलपछि सर्वोच्चले निवेदकले माग गरेअनुसार गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनाएको हो ।
यो निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुलाई जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खुलेको छ ।
तपाईको प्रतिक्रिया