सांसद साह साधारण तारेखमा रिहा

राजनीति

10/18/2019

जनकपुरधाम, १ कार्तिक । जनकपुरस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोदकुमार साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छोडेको छ । जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।

अभियोग माग दावी अनुसार नभएको कारणले सांसद साहलाई साधारण तारेख छाडिएको ईजलाश नम्बर–३ का न्यायाधीश तेजनारायण पौडेलले जानकारी दिए ।

साह रिहा भएपछि भोलिको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ । जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालको दिएको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।

जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ क को आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।

हिजो जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएपछि आजदेखि थुनछेक बहस भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ