काठमाडौं, ७ असार । कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक बहुमतले निर्वाचित सांसद रेशमलाल चौधरीलाई सरकारले १४ महिनापछि शपथ गहण गराई सांसदको लोगोमा जेल कोचेर आफ्नो नश्लबादी चरित्र उदाङ्गो पारिसकेको आरोप थारु संघसंस्था तथा राजनीतिक दलहरुले लगाएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुकमा फेरी पनि “स्वास्थ्य उपचारको लागि वीर अस्पतालमा भर्ना भएका उनै रेशम लाल चौधरीको खुट्टामा १४ किलोको नेल र हतकडीमा बाँधेर” उपचार गराउने दुईतीहाई बहुमतको सरकार र गृह प्रशासनले थारु माथि गरेको भेद्भाव सहितको यातना र चरम दमनप्रति हामी घोर विरोध गर्दै भर्त्सना गर्न चाहन्छौं ।’ थारु संघसंस्था तथा राजनीतिक दलहरुले संयुक्त विज्ञप्तिमार्फत् जनाएका छन् ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा स्वास्थ्य उपचार जस्तो संवेदनशिल विषयमा उपचार पनि सहज ढंगले गर्न नदिइ चौविसै घण्टा सुरक्षा निगरानीमा रहेका चौधरीलाई नेल हतकडी लगाउने सरकार, गृह प्रशासनले गरेको यस्तो निकृष्ट, अमानवीय हर्कत एवं पशुवत दानवीय व्यवहारप्रति जति नै निन्दा गरेपनि कमै हुने विज्ञप्तिमार्फत् जनाएका छन् ।
संविधानले प्रदत्त गरेको मानव अधिकारको हक, न्याय सम्बन्धी हक, समानताको हक, यातना विरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने हक आदिको बर्खिलाप गर्दै सरकारले स्वास्थ्य उपचारमा समेत यसरी मानसीक तनाव दिदै दमन गर्नु भनेको संविधान, ऐन कानुन, नियम विपरित एवं लोकतन्त्रको पूर्णउपहास हो ।
यसप्रति सरकारको ध्यान केन्द्रीत एवं सचेत गराउँदै अविलम्ब उनको जीवन रक्षार्थ स्वास्थ्य उपचारको व्यवस्था मानवीय संवेदना र संवैधानिक अधिकार अनुरुप सहजरुपमा मिलाउन माग गरेका छन् ।
साथै सरकारको यस्तो चरम यातना, दमन रवैयाप्रति राष्ट्रिय मानवअधिकार आयोग सहित मानव अधिकार सम्बन्धी संघ संस्था, अधिकारकर्मी, अभियन्ताहरुको गम्भिर ध्यानकर्षण गराएका छन् ।हाम्रो यस आग्रहलाई नजर अन्दाज गर्दै गृह प्रशासनबाट यसरी अमानवीय व्यवहार गर्दै यातना, दमन जारीरहे सरकारले कडा मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने यसै विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
थारु संघ संस्था तथा राजनीतिक दलहरु ः
थरुहट थारुवान राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समिति – संयोजक, मिनराज चौधरी
नेपाल लोकतान्त्रिक पार्टी केन्द्रीय समिति – अध्यक्ष, भानुराम थारु
थारु विद्यार्थी समाज केन्द्रीय समिति – अध्यक्ष, चन्द्र प्रसाद चौधरी
थारु पत्रकार संघ केन्द्रीय समिति – महासचिव, किशोर चौधरी
थारु कल्याणकारिणी सभा काठमाण्डौ उपत्यका – सचिव, तुलसी थारु
बर्दियाली थारु विकास मञ्च, काठमाण्डौ – अध्यक्ष, सिताराम चौधरी
थारु यूवा सभा केन्द्रीय समिति – महासचिव, चन्चल चौधरी
थारु विद्यार्थी सभा केन्द्रीय समिति – सह संयोजक, प्रेमा चौधरी
थारु महिला सभा काठमाण्डौ उपत्यका – अध्यक्ष, लिलम चौधरी
थारु राष्ट्रिय कलाकार मंच केन्द्रीय समिति – संयोजक, बिनय चौधरी
थारु राष्ट्रिय परिषद् केन्द्रीय समिति – संयोजक, सुरेश चौधरी
खड्क बहादुर थनेत स्मृति प्रतिष्ठान – संयोजक, ओम नारायण महतो
तपाईको प्रतिक्रिया