काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न बालुटार पुगेका कोइरालाले झण्डै दुई घण्टा छलफल गर्दा राजीनामा दिन सुझाव दिएका हुन् ।
भेटमा उनीहरु देशको वर्तमान राजनीतिक अवस्था र दुवै पार्टीको राजनीतिक विधिबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफूलाई प्रतिपक्षी दलका नेताहरूले भन्दा पनि आफ्नै पार्टीका नेताहरूले असहयोग गरेको, नचाहिने हल्ला फैलाइरहेको नेता कोइरालासँग पनि गुनासो गरे । ‘तपाईंहरूले प्रतिपक्षमा भएकाले त भन्ने नै हुनुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई आफ्नै पार्टीका साथीहरूले जथाभावी भनिरहेका छन् ।’
प्रधानमन्त्रीकै आग्रहमा बालुवाटार पुगेका नेता कोइरालाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो नै सार्वजनिक भएको सेक्युरिटी प्रिन्टिङ प्रेसबारे पनि छलफल गरेका थिए । ‘तपाईं नेतृत्वको सरकारको एकपछि अर्काे काण्डैकाण्ड आइरहेको छ । सरकारले यस्ता गतिविधिलाई रोक्न सक्नुपर्छ,’ ओलीलाई सुझाव दिँदै कोइरालाले भने । उनले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न लागेको प्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको बताए ।
‘देशलाई दुर्घटना हुनबाट बचाउनुपर्छ । तपाईं हामी मिल्नुपर्छ,’ ओलीले कोइरालालाई भने ।
तपाईको प्रतिक्रिया