रौतहट, २२ बैशाख । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका प्रमुख संतोष मेहताले नेकपा पार्टीमा प्रबेश गरेको झूठो अफवाह फैलाइएको बताएका छन् ।
उनले कुनै पार्टीमा प्रवेश नगरेको दावी गरे । शनिबार आफ्नो निजी निवासमा पत्रकार सम्मलेनको आयोजना गरी मेयर मेहताले आफूलाई जोडेर नेकपा पार्टीमा प्रवेश गरेको भनी केहि संचारमाध्यममा आएको समाचार निराधार कपोलकल्पित भएको खण्डन गरेका छन् ।
विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नगरप्रमुख मेहताले भने पार्टी विधिवत रुपमा नेपाली कांग्रेसमा समाहित भएपनि आफु अहिले सम्म स्वतंत्र नै रहेको छू अहिले कुनै पार्टीमा प्रवेश गर्ने मंसाय नरहेको प्रस्ट गर्दै मेयर मेहताले बदनाम गर्ने उदेश्यले अफवाह फैलाइएको बताए ।
स्थानीय मोहन मेहताको नेतृत्वमा करीब दुई दर्जन व्यक्ति नेकपामा प्रवेश गरेको बताए । काठमाण्डूमा भएको बेला एक जना मिल्ने साथीले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ सँग राजनीतिक भेटघाट गर्नुपर्ने आग्रह गर्दा सोही उद्देश्यले कार्यक्रममा आफू सहभागी भएको उनले बताए ।
नगरपालिकाको विकास बारेमा छलफल समेत भएको बताए । मेयर मेहताले पार्टी प्रवेशको समाचार आएको दिन नै खण्डन गरेको जिकिर गरे ।
चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिकाको विकासका लागि ५० प्रतिशत बजेट विनियोजन गरेको जानकारी गराउँदै सडक पूर्वाधार विकासको कार्य तीव्र रुपमा अगाडी बढ्ने बताए ।
गत आर्थिक वर्षको १९ करोड बेरुजू वडा सचिवको कारण भएको आरोप लगाए । सामाजिक सुरक्षाको रकम वितरण गरेका सचिवहरुले पेशकी फरछौट नगरेकोले १३ करोड बेरुजू भएको तथा ६ करोड अन्य शीर्षकमा फर्छौट नभएको कारण महालेखा परीक्षक कार्यालयले बेरुजू जनाएको बताए । बेरुजू फरछौट छिटै हुने विश्वास व्यक्त गरेका छन् ।
यस वर्षमा नगरपालिकाको बजेट फ्रिज नहुने दावी गर्दै मेयर मेहताले नगरपालिकामा मेयर र उपमेयरको बीचमा कुनै किसिमको विभेद नरहेको बताए । जिल्लाका केही स्थानीय तहमा उपमेयरहरु विवाद सिर्जना गरे पनि ईशनाथ नगरपालिकामा यस्ता समस्या नरहेको उनको कथन रहेको छ ।
तपाईको प्रतिक्रिया