काठमाडौं, २१ फागुन । हाल संसदमा विचाराधीन रहेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ का प्रावधान प्रति प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सदस्यहरुबीच नै मतभेद रहेको र नागरिक समाजका सदस्यहरू बिच पनि विविध चिन्ता र चासो देखिएको अवस्था प्रति विवेकशील साझा पार्टीको गंभीर ध्यानाकर्षण भएको छ ।
विवेकशील साझाका प्रवक्ता डा.सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गरी कसैको दबाव र राजनीतिक स्वार्थले भन्दा पनि राष्ट्र हितको वृहत्तर पक्षले नागरिकताको नीति र कानूनलाई दिशा निर्देश गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘विश्व शक्तिका रुपमा उदयीमान ठूलो जनसंख्या भएका दुई छिमेकीको बीचमा अवस्थित नेपालका लागि नागरिकताको विषय राष्ट्रिय सुरक्षाका हिसाबले समेत संवेदनशील र महत्वपूर्ण रहेको जगजाहेर नै छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘तर नागरिकता सम्बन्धि कानूनी व्यवस्था र प्रशासनिक कार्य्विधिले कुनै पनि क्षेत्र, समुदाय र लिंगका नेपाली नागरिकले सहजै नागरिकता हासिल गर्न सक्ने अवस्था सुनिश्चित गर्नु पर्दछ ।’
दीर्घकालीन राष्ट्र हितलाई केन्द्रमा राखी सम्बोधन गरिनु पर्ने नागरिकता जस्तो सम्वेदनशील विषयलाई विगतमा पटक–पटक भद्दा राजनीतिकरणको बिषय बनाइएको विवेकशील साझाको ठहर छ ।
तपाईको प्रतिक्रिया