बारा, १० मंसिर । प्रदेश नम्बर २ अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणलाई गति दिनका लागि नेपाल कम्युनिष्ट पार्टीले बृहत् आमसभाको आयोजना गर्दैछ ।
मंगलबार बाराको निजगढमा हुन लागेको आमसभामार्फत राष्ट्रिय गौरवको आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गराउन दबाब दिनका लागि नेकपा प्रदेश नम्बर २ ले ५० हजारभन्दा बढी प्रदेशवासीलाई एकै ठाउँमा जम्मा गर्न लागेको हो ।
नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को प्रमुख आतिथ्यमा हुन लागेको आमसभाको अध्यक्षता नेकपा प्रदेश अध्यक्ष प्रभु साहले गर्न लागेका हुन् ।
विशेष अतिथिको रूपमा सभामा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सम्बोधन गर्नेछन् ।
मुख्यतः प्रदेश नम्बर २ मा रहेको राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माणलाई गति दिनका लागि जनदबाब दिन आमसभा आयोजना गर्न लागेको नेकपा प्रदेश अध्यक्ष प्रभु साहले जानकारी दिए ।
अध्यक्ष साहले भने, “मुलुक लामो समयसम्म राजतन्त्रको अँध्यारो सुरुङमा थियो, जसको विरुद्ध नेपाली जनताको लामो त्याग, बलिदान र संघर्ष गरेपछि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा लगेका हौँ ।
विरासतमा पाएको गरिबी, विभेद र पछौटेपनबाट मुलुकलाई छुटकारा दिलाउनको लागि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरु गेमचेन्जरको रूपमा रहेको छ । मुलतः प्रदेश नम्बर २ भइरहेका कार्यहरू समयमै सम्पन्न गर्नका लागि हामी वृहत् दबाब सृजना गर्दैछौं । हजारौं हजार जनता यसरी विकास र समृद्धिका पक्षमा एकै ठाउँमा पहिलो पटक जम्मा हुन लागेका हुन् ।“
कार्यक्रममा सहभागी हुन आव्हान गर्दै अध्यक्ष साहले यस सभा सम्पन्न भएपछि प्रदेशको विकासले गति लिने विश्वास व्यक्त गरे ।
प्रदेश नम्बर २ मा काठमाडौ–तराई मधेश द्रुतमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी लोकमार्ग, पूर्व पश्चिम रेलमार्ग, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, कोशी कमला डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
तपाईको प्रतिक्रिया