नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

राजनीति

3/29/2019

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् । राजधानीमा बिहीबारदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताए ।

नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई उन्नतिको बाटोमा डो¥याउन सकिने आशावादी सोच त्यतिबेला पनि प्रस्तुत गरेको स्मरण गर्दै प्रधानमन्त्रीले मित्र र शुभचिन्तकसँगको साझेदारीबाट नेपालको विकास प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन सकिने बताए ।

लगानीका लागि पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उहाँले नेपालमा उपलब्ध अवसर भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीले बताए ।

लगानीका अथाह अवसर भएको नेपालका तीन करोड इमानदार एवं परिश्रमी नेपालीको जीवनस्तर उकास्न लगानीको आवश्यकता परेको यथार्थ सुनाउँदै उहाँले नेपालको स्थिर सरकारले गरेको लगानी सुरक्षासहित मुनाफाको सुनिश्चितताबाट फाइदा उठाउन आग्रह गरे ।

छिमेकभन्दा पर पनि नेपाली उत्पादन खपत हुने गरेका, नेपालको आन्तरिक बजार पनि बढिरहेको र मध्यमवर्गाीय जनसङ्ख्याको क्रयशक्ति बढिरहेको, विकासोन्मुख र विकसित देशले पनि अल्पविकसित नेपाललाई व्यापारको साझेदार बनाएका जनकारी दिँदै उनले भौतिक सम्पर्क स्थापनाका अवरोध पनि क्रमशः हट्दै गएको बताए ।

कृषि, उत्पादन क्षेत्र, पर्यटन, भौतिक पूर्वाधार,सूचना प्रविधि, खनिज र खानी क्षेत्रले पनि लगानीको प्रतीक्षा गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

अन्तरदेशीय प्रसारणलाइन निर्माणका निम्ति आधारभूत पूर्वाधार निर्माणको प्रयास भइरहेको, बिम्स्टेक क्षेत्रमा विद्युत् व्यापार गर्ने सन्दर्भमा बिम्स्टेक ग्रिड इन्टरकनेक्सनमा हालै भएको समझदारीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी आकर्षित गरेको बताउँदै प्रधानमन्त्री ओलीले पानीलाई सम्पत्तिमा रुपान्तरण गर्ने अवसर गुमाउननहुनेमा जोड दिए ।

तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको जानकारी दिँदै उनले द्रुत औद्योगिकीकरणसँगै विद्युत्को आन्तरिक खपतमा वृद्धि भइरहेको तथा भारतको सकारात्मक प्रयासका कारण क्षेत्रीय बजारमा बिजुली बिक्रीको सम्भावना बढेको बताए ।

संसदमा रहेका नेपालका सबै राजनीतिक शक्ति बाह्य लगानी प्रोत्साहन एवम् आमन्त्रण गर्न तथा विकासका विषयमा सहमत रहेका त्यसमा राष्ट्रिय सहमतिसमेत रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासको स्पष्ट दृष्टिकोण बोकेको वर्तमान सरकारसँग निजी क्षेत्रको साथ र सहयोग रहेको दोहो¥याए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ