सरकारबाट बहिर्गमन नहुने भट्टराईको संकेत

राजनीति

11/14/2019

काठमाडौं, २८ कार्तिक । समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले नेपाललाई ११ प्रदेशसहितको पुनर्संरचना गर्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्याएका छन् ।

समाजवादी पार्टीको काठमाडौंमा सुरु भएको संघीय परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले ११ प्रदेशको पुनसंरचना मोडेल उपयुक्त भएको तर्क गरे ।

‘उत्पीडित राष्ट्रियताहरुको मुक्ति तथा शासन सत्त्तामा साझेदारीका लागि राज्यको एकात्मक तथा केन्द्रीकृत चरित्र तथा संरचना अन्त्य गरी पहिचान, अधिकार, स्वायत्तता र स्वशासनमा आधारित संघीयता निर्माण गर्नुपर्दछ,’ उनले प्रस्तुत गरेको दस्तावेजमा भनिएको छ, ‘त्यसनिम्ति पहिचानमा आधारित ११ प्रदेशको मोडेलमा जानु आवश्यक छ ।’

अहिलेको राज्यलाई संघीयकरण गर्ने प्रक्रियालाई अधुरो र अपूर्णको संज्ञा दिँदै आफ्नो पार्टीले मधेशी, आदिवासी जनजाति, मुस्लिम, खस, थारु, शिल्पी दलित, अल्पसंख्यक तथा लोपोन्मुख जाति समुदायको मुक्तिआन्दोलनलाई सदैव अगाडि बढाउने भट्टराईको प्रस्तावमा भनिएको छ ।

उनले विकास, सुशासन र समृद्धिको लागि सोहिअनुसारको प्रणाली, विधि, पद्धति र संस्थागत प्रक्रिया हुनुपर्नेमा त्यसो नहुँदा अहिले मुलुकमा राम्रो विकास हुन नसकेको पनि दाबी गरेका छन् ।

तत्काल सरकारबाट नहट्ने

राजनीतिक प्रस्तावमा भट्टराईले पार्टी तत्काल सरकारकाबाट फिर्ता हुन नहुने संकेत पनि दिएका छन् । सरकारमा सहभागी हुनुपूर्व सरकारसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका लागि दबाब सिर्जना गर्नुपर्ने उनले बताएका छन् । ‘सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रक्रिया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढाएमा सरकारबाट वर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

डा. भट्टराईको राजनीतिक प्रतिवेदनको पूर्णपाठ भोलि (शुक्रबार) को मधेशवाणीमा प्रकाशित हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ