जनकपुरधाम, २० फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आफू निश्चित समयमा नै पार्टी महाधिवेशन गराउने पक्षमा रहेकोले महाधिवेशन नचाहनेहरुले आफू विरुद्ध षडयन्त्रको जालो बुन्न थालेको आरोप लगाएका छन् ।
महतोविरुद्ध उनकै पूर्व स्वकीय सचिव रवीन्द्र कुमार चौधरी (राजेश) ले विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेहरुको एउटा षडयन्त्र भएको स्पष्टोक्ति दिएका छन् ।
जनकपुरधाममा पत्रकारहरुको जिज्ञासामा महतोले भने, ‘म विरूद्ध भइरहेको षड्यन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन । अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमै पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरा र आरोप प्रत्यारोप माथि मेरो कुनै खासै चासो छैन ।’
राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टी भित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म यस्तो स–साना कुरामा आफू नअल्झिने प्रतिक्रिया दिएका छन् ।
यता संसद सचिवालयले महतोका स्वकीय सचिव रहेका रबिन्द्र चौधरी (राजेश)लाई तीन महिना पहिले नै जिम्मेवारी मुक्त गरि सकेको जानकारी दिएको छ ।
उक्त अवधिमा संसद सचिवालयमा जम्मा गरिएको सबै कागजातमा चौधरीकै हस्ताक्षर रहेको कुरा पनि स्पष्ट पारेका छन् ।
‘मेरै निर्वाचन क्षेत्र रहेको जनकपुरधाममा विगत लामो समयदेखि पत्ररकारीता गर्दै आएका र प्रेस मञ्च नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका बिन्द किशोर साह (किशोर गुरु) मेरो स्वकीय सचिव रहेको’ समेत उनले स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया