प्रदेश २ को मन्त्रिपरिषद्मा सक्षम र अनुभवीहरुलाई पठाउनुपर्छ : ज्ञानेन्द्र झा ज्ञानु (अन्तर्वार्ता)

राजनीति

2/23/2020

काठमाडौं, १२ फागुन । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार रहेको प्रदेश २ सरकार पूर्णरुपमा असफल भइसकेकोले सक्षम र अनुवभीहरुलाई पठाउनुपर्ने माग उठिरहेको छ ।

राजपाका धनुषा जिल्ला अध्यक्षमण्डलका नेता तथा राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका ज्ञानेन्द्र झा ज्ञानुले आफ्नै पार्टीका मन्त्रीविरुद्ध संघर्षमा उत्रेका छन् ।

उनले सामाजिक विकासमन्त्री नवलकिशोरलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका थिए । सोही विषयमा राजपा धनुषाले आत्मालोचना गर्न भनेको थियो तर उनले आफूले कुनै गलती नगरेकोले आत्मालोचना नगर्ने बताएका छन् ।

प्रदेश २ सबै मन्त्रीदेखि मुख्यमन्त्रीसमेत असफल भइसकेकोले नयाँ अनुहार पठाउनुपर्ने माग गरेका छन् । यही सन्दर्भमा मधेशवाणीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

० तपाइँ आफ्नै पार्टीबाट मन्त्री भएका नेतालाई कालोमोसो दल्ने चेतावनी दिनुभयो, नाराबाजी गर्नुभयो किन ?

— जनभावनाअनुरुप काम नगर्ने जोसुकै वा जुनसुकै पार्टीका नेता भएपनि हामी त्यसको विरोध गर्छौं । आफ्नो पार्टीका नेताहरुले यदि गलती गर्छ भने उसको विरुढमा बोल्नु हुँदैन भन्ने कुरा हाम्रो विधान घोषणापत्रमा पनि छैन । खासमा यी कुराहरु प्रतिपक्षी दलका नेता कार्यकर्ताहरुले उठाउनुपर्ने थियो तर उनीहरु निहीत स्वार्थमा लागेका छन् । हामीजस्ता युवाहरुले यी कुराहरु नउठाउँदा जनतासँग अन्याय हुन्छ । मधेश आन्दोलनबाट पाएको आंशिक उपलब्धिहरुलाई सही ढंगले व्यवस्थापन गर्न सकिरहेका छैनौं ।

० प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहविरुद्ध मात्रै किन लाग्नुभएको छ, अन्य मन्त्रीहरुले राम्रा काम गरेका छन् त ?

— होइन, यो एउटा सुरुवात मात्रै होइन । प्रदेशका सबै मन्त्रीका विरुद्धमा आन्दोलन भएकै हो । उपभोक्ता समितिहरुको ८७ करोड रुपैयाँ भुक्तानी बाँकी छ । उपभोक्ता समितिका जनताहरु अहिले मर्कामा छन् । उनीहरु गाउँ जाने अवस्था छैन । जसले गर्दा गाउँ–गाउँमा अहिले विद्रोहको अवस्था छ । अस्ति मात्रै जनकपुरधाममा मुख्यमन्त्रीलगायत मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार गरिएको थियो । त्यसैले एउटा मात्रै मन्त्रीलाई टारगेट गरेको भन्ने कुरो होइन । प्रदेश सरकारले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरिरहेको छैन ।

० उपभोक्ता समितिहरुको भुक्तानी दिने भनेर आर्थिक मामिला तथा योजनामन्त्रीले भनिसक्नुभएको छ नि ?

— उपभोक्ता समितिहरुको भुक्तानी दिने भनेर प्रतिबद्धता मात्र जनाएका हुँदैन । यो त कार्यान्वयन गर्ने कुरो हो । गत असारमै पाउनुपर्ने भुक्तानी चालु आर्थिक वर्षको पनि आधाभन्दा बढी समय बितिसक्यो । त्यसैले अहिले प्रतिबद्धता जनाएर हुँदैन, कार्यान्वयन गर्ने कुरो हो । मन्त्रीले भुक्तानी दियौं भन्नुपर्ने हो ।

० मन्त्री नवलकिशोर साहमाथि तपाइँको केही व्यक्तिगत रिइस्वी छ कि ?

— उहाँसँग मेरो कुनै व्यक्तिगत रिसराग छैन । म कुनै कामले उहाँको मन्त्रालय गएको थिएँ, त्यहीं क्रममा उहाँले ममाथि दुव्र्यवहार गर्नुभयो । उहाँले मेरो औकात खोज्नुभयो । त्यहीं सन्दर्भमा मैले पनि तत्कालै आक्रोश देखाएको थिएँ । मैले सबै निर्वाचन क्षेत्रमा समानरुपले बजेट जानुपर्छ भनेको थिएँ । देशमा समानुपातिक समावेशिता हुनुपर्छ भनेर संघर्ष गरेको पार्टीका नेता कार्यकर्ता हौं हामी । यदि हाम्रै पार्टीका मन्त्रीबाट हामीसँगै विभेद हुन्छ भने हामी सहने कुरो हुँदैन । त्यसैले हामीले आन्तरिक संघर्ष र विरोधका कुराहरु पनि उठाउनुपर्ने आवश्यकता छ । आज उहाँहरु जसरी झण्डावाला गाडी हिंडिरहनुभएको छ, सुखसुविधा भोगिरहनुभएको छ, त्यो सबै हाम्रो क्रान्ति र संघर्षकै कारणले हो । यी कुराहरु मन्त्रीहरुले नबुझेको कारणले हाम्रो चित्त दुख्नु, हामी आक्रोशित हुनु, विरोध गर्नु स्वाभाविक हो ।

० मन्त्रीविरुद्ध तपाइँले गरेको कार्यको तपाइँकै पार्टी आत्मालोचना गर्न भनेको छ नि ?

— मे यस विरोधका कारण धनुषा जिल्लाका पार्टीका केही साथीहरुले यस्तो भनेका छन् । तर, हाम्रो पार्टीका सुप्रिमो हाइकमण्डले केही पनि भनेको छैन । यस विषयमा मैले गलती गरेको जस्तो मलाई लाग्दैन ।

० भनेपछि तपाइँ आत्मालोचना गर्नु हुन्न ?

— मैले कुनै अपराधै गरेको छैन भने आत्मालोचना गर्ने कुरै आउँदैन ।

० पार्टीका मन्त्रीले जनताको भावनाअनुरुप काम गरेन भन्ने त्यो मन्त्रीलाई कारबाही गर्न वा सचेत गराउन पार्टीबाट दबाब दिनुपर्ने हो नि ?

— मैले हाम्रो पार्टीका मन्त्रीहरुले जनताको भावनाअनुरुप काम गरिरहेको छैन भन्ने कुरा नेतृत्ववर्गलाई जानकारी गराउँदै आएको छु । तर म पार्टीको नेता कार्यकर्ता भएपनि यो देशको एउटा सचेत नागरिक पनि हो । म मधेशको एउटा वफादार सिपाही पनि हो । हाम्रै पार्टीका नेता कार्यकर्ताहरु पदमा पुगेपछि आफ्नो कार्यशैली सुधार्नु भएन वा पार्टीले कारबाही गरेन भने हामी त्यसको विरुद्धमा आवाज उठाउनुको विकल्प रहँदैन । त्यहीं विकल्प हामीले अख्तियार गरेका हौं ।

० भनेपछि राजपाका मन्त्रीहरु अब परिवर्तन हुनुपर्छ ?

— राजपाभित्र एकसेएक होनहार युवा, क्रान्तिकारी योद्धाहरु छन् । ती योद्धाहरुलाई जिम्मेवारी दिने हो भने अहिलेका मन्त्रीहरुभन्दा सयौं गुणा राम्रो काम गर्न सक्छन् । हाम्रो पार्टीको आन्तरिक समस्याको कारणले जनताको भावनालाई प्रतिनिधित्व गर्न खालका सक्षम युवा र भिजन भएका विधायकहरु राजपाभित्र छन् । उहाँहरुले यदि भूमिका पाएको भए निश्चितरुपमा यो राम्रो काम हुने थियो । आगामी चुनावमा संघीय सरकारले सहयोग गरेन वा विपक्षीले काम गर्न दिएन भन्ने कुरा भन्यौं भने जनताले पत्याउनेवाला छैन । हामीसँग भएका स्रोतसाधनबाट यति काम गर्यौं, आगामी दिनमा यस्तो काम गर्छैं भन्ने किसिमको वातावरण बनाउनु आवश्यक छ । तर, हामी आफैले केही नगर्ने र केन्द्र सरकारले असहयोग गर्यो, काम गर्न दिएन भन्ने कुरा लिएर जनतामा जाने अवस्था छैन । कुनै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिने काम अब चल्दैन ।

० प्रदेश सरकारले केन्द्रमाथि आरोप लगाएर आफू पन्छिने काम मात्र गरेको छ ?

— केन्द्र सरकारले प्रदेशलाई सहयोग गरेन भन्ने कुरो जायज हो । केन्द्र सरकारले यस्तो त गर्छ नै । केन्द्र सरकारको शाखा कार्यालयको रुपमा प्रदेशलाई राख्न खोजिएकै हो । यो मानसिकताबाट संघ सरकार माथि उठ्न नसकेको अवस्था त हो । तर, प्रदेश सरकारमा प्राप्त अधिकार र स्रोत साधनको समुचित ढंगले सदुपयोग नभइरहेको अवस्था हो । यो दुईटै कुराको हामीले विरोध गर्नुपर्छ ।

० प्रदेश सरकारको दुई वर्षे उपलब्धिहरु धेरै भएको भन्ने दाबी छ नि ?

— हामी कुन एजेन्डा लिएर जनतामाझ चुनावका बेला गएका थियौं, जनताले हामीलाई के म्यान्डेड दिएको र कुन दलको सरकार छ भन्ने कुराको बोध हुन सकेको छैन । यो देशमा संघीयता ल्याउन बाध्य पार्ने शक्तिको सरकार हो प्रदेश २ मा । त्यो शक्तिले सानोतिनो झाराटार्ने खालका कामहरु गरेर धेरै उपलब्धि गर्यौं भनेर प्रगति देखाउन मिल्दैन । ठूलठूला र चुनौतीपूर्ण कामहरु गरेर देखायो भने मात्र जनताले विश्वास गर्छ ।

० भनेपछि प्रदेश २ मा अब नयाँ नेतृत्वसहितको सरकार हुनुपर्छ ?

— प्रदेश २ मा वर्तमान राजपा र समाजवादी पार्टीको गठबन्धन नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा हामी छैनौं । प्रदेश २ मा परिवर्तनकामी मधेशवादी दलहरुको सरकार हो । राजपा र समाजवादी पार्टीका सक्षम र अनुभवी व्यक्तिहरुले जिम्मेवारी नपाएका कारण यस्तो लथालिङ्ग अवस्था देखिएको हो । निश्चितरुपमा अहिलेका मन्त्रीहरुलाई परिवर्तन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ