ललितपुर, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा पनि कम्युनिष्ट पार्टीकै सरकार आवश्यक रहेको बताएका छन् ।
उनले मधेशी दल नेतृत्वको सरकारले मधेशी जनताको भावनाअनुरुप कार्य गर्न नसकेको आरोप लगाउँदै कम्युनिष्टकै सरकार चाहिएको दाबी गरेका छन् ।
उनले मधेशमा सरकार मधेशी जनताको हित अनुकुल नचलेको बताए । ‘तराई मधेशमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ,’ उनले भने ।
प्रदेश दुईमा रहेर राजनीति गरिरहेका मधेश तराई पार्टीका अध्यक्ष अमर यादवले पार्टीमा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्ने बताए ।
कार्यक्रममा मधेश तराईको सिंगो पार्टी नेकपामा समाहित भएको थियो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले माला र खादा लगाई पार्टीमा स्वागत गरेका छन् ।
साथै, उनले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । उनले भने, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’
प्रदेश नम्बर २ मा मधेश तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले जनतालाई बढीभन्दा बढी अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताए । उनले संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिए ।
उनले संविधान संशोधनका लागि प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे ।
सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ ।’
तपाईको प्रतिक्रिया