प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको बिस्फोटको घटनाप्रति दुःख व्यक्त

राजनीति

4/21/2019

काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम विस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार श्रीलंकाका प्रधानमन्त्री रनिलविक्रमा सिंघेलाई एक समवेदना सन्देस पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “श्रीलंकाका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।”

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भतर््सना गरेको उल्लेख गरेका छन् । “यस्तो अपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु । नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

“दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभिएका छौं । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ