रौतहट, १३ बैशाख । संघीय समाजवादी फोरम नेपाल जिल्ला समन्वय समिति रौतहटको अध्यक्षमा धर्मेन्द्र प्रसाद पटेल विजयी भएका छन् ।
निकटतम् प्रतिद्वन्दी विन्देश्वर प्रसाद यादवलाई ६ मतले पराजित गर्दै पटेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
केन्द्रीय पर्यवेक्षक सुरेन्द्र यादव, सिहासन प्रसाद साह कलवार र रामनरेश यादवको रोहावरमा भएको मतदानमा देवाही गोनाही नगरपालिकाका प्रमुख समेत रहेका पटेलको पक्षमा २७ मत तथा विपक्षमा रहेका यादवको पक्षमा २१ मत खसेको मतदान अधिकृत कामेश्वर प्रसाद यादवले बताएका छन् ।
४८ जना मतदाता रहेको जिल्ला अधिवेशनको निर्वाचनमा ४८ जना प्रतिनिधिले सदर मतदान गरेका थिए । पार्टीको विधान अनुसार अध्यक्षमा पटेल निर्वाचित भएपछि बाँकी प्रतिनिधि कार्य समितिको सदस्य भएको छ ।
४८ सदस्य कार्य समितिको परिणाम प्रवेक्षक सुरेन्द्र यादवले घोषणा गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन प्रक्रिया संपन्न भएकोले पार्टीका सवै तह तप्काका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचितहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
सहमतिको प्रयास गर्दा पनि सहमति हुन नसक्दा निर्वाचनको प्रक्रिया अपनाइएको थियो । ४ जना अध्यक्ष पदमा उमेदवारी दिएपनि २ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका थिए ।
पार्टीको आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक मूल्य मान्यता अनुसार भएकोले कुनै किसिमका द्वेष ईर्ष्या नराखी सामान रुपमा पार्टीको पक्षमा कार्य गर्न प्रदेश सांसद रामकिशोर यादवले निर्वा्चित अध्यक्षलाइ सुझाव दिएका छन् ।
केन्द्रीय सदस्य रेवन्त झा, राघबेन्द्र झा, प्रदेश सदस्य ब्रिज कुमार यादव लगायतका नेताहरुले निर्वाचित अध्यक्ष लगायत सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् ।
दुई समूहका उम्मेदवार भएकोले पराजित हुने पक्ष दुखी हुने स्वाभाविक रहेको छ । नेताहरुले गुट उपगुट विभेद नगर्ने भन्दा पनि रौतहटमा फोरममा २ पक्ष रहने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया