काठमाडौं, २ चैत । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलाई पहिचान र सङ्घीयताको आन्दोलनका साथै मातृभाषामा शिक्षाको अभियानमा पुर्याएको योगदानको कदर गर्दै काठमाडौँको हनुमानढोकामा एक भब्य कार्यक्रम आयोजना गरी नेपालभाषाका १५ वटा संघसंस्थाहरूले सामुहिक रूपमा सम्मान गरेको छ ।
सांसद श्रेष्ठले लामो समयदेखि भाषिक अधिकारका लागि चलिरहेको आन्दोलनको मागलाई देशको सङ्घीय संसदमा राख्नुका साथै मातृभाषामा शिक्षाका लागि सम्बन्धित समुदायले नै स्कूल खोल्नुपर्ने गरी ल्याएको सरकारी विधेयकको विरोध गर्दै सङ्घीय गणतन्त्रमा मातृभाषामा शिक्षादिने जिम्मेवारी सरकारले नै लिनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गर्नुका साथै त्यसलाई पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले सङ्घीय व्यवस्थामा वहुभाषिक नीति कार्यान्वयन गर्नु पर्नेमा स्थानीय तहको अधिकार क्षेत्रमा रहेको माध्यमिक तहमा समेत मातृभाषाबाट शिक्षा दिनुका सट्टा संस्कृतलाई शिक्षाको अलग विधा भन्दै प्राथमिकता दिएकोमा संशोधन प्रस्ताव राखी स्थानीय तहमा बाहुल्यतामा रहेको भाषामा शिक्षा दिलाउने गरी विधेयक संशोधन गर्न विशेष भुमिका खेलेका थिए ।
त्यसरी नै भविष्यमा मुआब्जा दिए पनि हुने गरी सडक विस्तारको नाममा गैरन्यायिक ढङ्गले जनतालाई उठीबास गर्न पाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई पीडितको पक्षमा संशोधनसहित पारित गराउन पनि उनले भुमिका खेलेका थिए ।
तपाईको प्रतिक्रिया