नयाँ दिल्ली, ४ फागुन । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् ।
यसअघि कांग्रेसकी शीला दीक्षित तीन पटकसम्म दिल्लीको मुख्यमन्त्री बनेकी थिइन । केजरीवालले शपथका क्रममा दिल्लीलाई अघि बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद चाहिने बताएका छन् । आम आदमी पार्टीले शपथ समारोहमा प्रधानमन्त्री नरेद्र मोदीबाहेक अन्य कुनै नेतालाई बोलाइएको थिएन । तर निम्ता पाएर पनि मोदी शपथ समारोहमा सहभागी भएनन् ।
दिल्ली विधानसभा चुनावका लागि ८ फेब्रुअरीमा मतदान भएको थियो । ११ फेब्रुअरीमा आएको अन्तिम नतिजामा आम आदमी पार्टीले ७० मा ६२ सिट जित्दै दुईतिहाइ ल्याएको थियो । भाजपाले ८ सिट जितेको छ । पछिल्लो चुनावको अनुपातमा भाजपालाई ५ सिट फाइदा भएको छ । तर कांग्रेसले दिल्लीमा यो पटक सन् २०१५ मा जस्तै एक सिट पनि जित्न सकेन ।
तपाईको प्रतिक्रिया