काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सरकारलाई सुझाव दिएकी छन् ।
सर्वदलीय वार्ता टोली बनाएपछि सबै दल एक ठाउँमा रहेको सन्देश जाने र भारतसँग कुरा गर्न सहज हुने उनको भनाइ छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वैठकमासबै दलका प्रतिनिधि राखेर वाता गर्न सुझाव दिइन ।
त्यस्तो वार्ता टोलीको नेतृत्व गर्न आफूसमेत तयार रहेको उनले बताइन् । ‘म नेतृत्व गर्न तयार छु । म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु जस्तो लाग्छ’ उनले भनिन् ।
भारतले बंगलादेशसँगको सीमा समस्या समाधान गरेको उदाहरण दिँदै उनले वार्ताबाटै नेपालले पनि समस्या समाधान गर्न ध्यान दिनुपर्ने जोड दिइन् ।
सांसद कोइरालाले आफूले कालापानी भारतलाई लिजमा दिउँ भनेर प्रस्ताव गरेको बताइन् । ‘करिब ६ महिनाअघि मैले विकल्पका रुपमा कालापानी भारतलाई लिजमा दिन सकिन्छ भनेको हुँ ।
कालापानी नै भारतलाई दिनुपर्छ भनेको होइन’ कोइराला भनिन्, ‘मैले विकल्प दिएको हुँ । अरु विकल्प के हुन सक्छ ल्याउनुस् न ।’
तपाईको प्रतिक्रिया