सत्तारुढ सांसदले नै मागे मुख्यमन्त्री राउतको राजीनामा

राजनीति

3/15/2020

जनकपुरधाम, २ चैत । प्रदेश २ का विपक्षीसँगै सत्तारुढ सांसदहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

प्रदेश सभाको बैठकमा सत्तारुढ तथा विपक्षी सांसदहरुले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर समस्या समाधानका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । सत्तारुढ राजपाका सांसद मनिष सुमनले प्रदेश सरकारले उपलब्धिमूलक काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

प्रहरी ऐन ल्याउँदा पनि प्रहरी भर्ना गर्न नसकेको, गत वर्ष सम्पन्न भएका योजनाहरुको अहिलेसम्म भुक्तानी दिन नसकेको, मलेठ, सचिव कुटपिट घटना लगायतको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न नसकेको भन्दै सांसद सुमनले सरकारको आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला भएको खर्चका विवरण पनि सार्वजनिक गर्न नचाहेको उनको आरोप छ ।

प्रमुख प्रतिपक्षी नेकपाका सांसद रामचन्द्र मण्डलले पनि मुख्यमन्त्री राउतको राजीनामा मागे । मुख्यमन्त्रीलाई भेट्न जाँदा मन्त्रीहरु आफ्नो अधिनमा नभएको र प्रदेशसभा आउँदा सचिव आफ्नो निर्देशन नमान्ने गरेको सुनाएको भन्दै उनले भने, ‘न मन्त्रीले टेर्छन्, न सचिवले । त्यसो भए तपाईं कमान्डलेस बन्नुभयो ।’

उनले संघीयतालाई असफल बनाउन संघीय सरकारले कर्मचारीलाई तालिम दिएर पठाएको भन्ने मुख्यमन्त्री राउतको अभिव्यक्तिमाथि पनि प्रश्न उठाए । सांसद मण्डलले भने, ‘त्यसो भए मुख्य सचिव र सचिवलाई पनि प्रदेश सभामा बस्ने व्यवस्था गराऔं र उनीहरुको जवाफ सुन्ने व्यवस्था गरौं ।’

नेकपाका अर्काे सांसद किशोरी साहले प्रदेश सरकारलाई नियम पालना नगरेको तर कर्मचारीमाथि दोष थुपारेको आरोप लगाए । गत बर्ष सम्पन्न भएका योजना सञ्चालन गर्नुअघि १८ नम्बरको फारम नभरिएको र बहुवर्षीय योजना पनि नभएकाले कर्मचारीले निकासा नदिएको तर मख्यमन्त्रीले प्रदेशसभामा आएर झुट बोलेको उनको आरोप छ । उनले मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ