मधेशको विकासप्रति सरकारको चासो : मन्त्री पण्डित

राजनीति

10/20/2019

सर्लाही, २ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेशको गरिबी र अशिक्षाको स्तर सुधार गर्न सरकार लागिपरेको बताएका छन् । 

सर्लाहीको बसबरिया गाउँपालिका–४, गोनर्वामा निर्मित राम जानकी धर्मशालाको शनिवार उद्घाटन गर्दै मन्त्री पण्डितले गरिबी र अशिक्षाको दर घटाउन स्थानीय सरकार अझ् बढी जिम्मेवार बन्नुपर्ने बताए । बसबरिया गाउँपालिका नै पुर्खौली घर भएका मन्त्री पण्डितले मधेशको विकासप्रति सरकारको चासो र चिन्ता रहेको उल्लेख गरे ।

राजनीतिक किचलो र भ्रष्टाचारका कारण मधेश पछाडि परेकोमा मन्त्री पण्डितले चिन्ता व्यक्त गरे । उनले कर्मचारीलाई सेवाभाव राखी अनियमितता र भ्रष्टाचारमा संलग्न नभई सहज रुपमा सेवा प्रवाह गर्न आग्रह गरे । नेता र जनप्रतिनिधिमा पनि असल राजनीतिक संस्कारको विकास हुनुपर्नेमा मन्त्री पण्डितले जोड दिए । 

तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत ६० लाख रुपियाँ लागतमा निर्माण गरिएको धर्मशाला विभिन्न सामाजिक कामकाजमा प्रयोग गरिने बसबरिया गाउँपालिकाकी उपाध्यक्ष रीनाकुमारी यादवले जानकारी दिइन । धर्मशालाका लागि यस वर्ष थप ४० लाख रुपियाँ बजेट प्राप्त भएकाले पर्खाल निर्माण गर्ने र दोस्रो तला थप्ने योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ