काठमाडौं, २३ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशीका जनतासँग आफ्नो प्रेम कायमै रहेको बताएका छन् । सिराहाको सखुवान्नकारकट्टीमा आयोजित दोस्रो झण्डा महोत्सवमा बोल्दै प्रचण्डले सशस्त्र संघर्षदेखि नै आफू र तराई मधेशका जनताबीच प्रेम बसेको बताए ।
‘मेरो तराइ मधेश माइती घर हो, यहाँका जनतासँगको प्रेम पुरानै हो । म त्यो प्रेम टुटाउने पक्षमा छैन’, प्रचण्डले भने ।
उनले विभिन्न राजनीतिक परिवर्तनका क्रममा तराई मधेशका जनताले देखाएको त्याग र बलिदान बिर्सन नमिल्ने भन्दै हिमाल, पहाड र तराईको एकतालाई मजबुत ढंगले जोडेर मात्रै अधिकार, विकास र सम्बृद्धिको यात्रामा सफल हुन सकिने बताए ।
आफू प्रधानमन्त्री भएका बेला तराई–मधेशका जनताका लागि हुलाकी सडक विस्तार र सिंचाईका लागि गरेको पहलले सार्थकता पाउँदै गएको उनले दाबी गरे ।
हाल सत्तारुढ दलको अध्यक्षको हैसियतले पनि तराई मधेशको विकासका लागि आफूले गर्नसक्ने सबै सहयोग गर्न तयार रहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले जनआकांक्षा अनुसार संविधान संशोधन गर्दै जान सकिने भन्दै सोही अनुसार संविधानमा संशोधनका प्रावधानहरु राखिएको र त्यसका लागि आफ्नो पार्टी तयार रहेको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया