काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्री र ३ राज्य मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार उनले त्यसको भोलिपल्ट शपथ गराएकी हुन् । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको कार्यभार सम्हालेर काम गर्न बाटो खुलेको छ ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।
तपाईको प्रतिक्रिया