इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरी काम भईरहेको छ : मेयर चौधरी

राजनीति

8/1/2019

इटहरी, १६ साउन । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका गाउँ–गाउँमा विकासको लहर छाएको दावी गरेका छन् । एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो पिच गर्न नसके राजीनामा दिने बताएका छन् । इटहरीमा सडक निर्माणको कामले गाउँ गाउँमा तीव्रता लिएको बताएका छन् ।

इटहरीका ११ वटा सडक बहुवर्षीय योजना अनुरुप निर्माण हुँदै छन् । ती सडक निर्माण पछि गाउँ र मुख्य सडकलाई पिच वाटोले जोड्ने छ । उपमहानगरका गाउँ–गाउँका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि गाउँका मुख्य–मुख्य बाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए । काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।”

गत वर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक बर्षमा पनि भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिएको छ । उनले बाह्य चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपैयाँ छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए । ब्यक्तिले भोगचलन गरेका करोडौं मूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्रता दिएको सुनाए ।

उनले आफू उपमहानगरमा निर्वाचित हुँदा खाली आएको र जाँदा पनि खाली नै जाने बताए । तर उपमहानगरमा रहेका वेथिती हटाउँदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पु¥याउने बताए । मेयर चौधरीले चलाएको भ्रष्टाचार विरोधी अभियानलाई संस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचारविहीन सरल, सहज र पहुँचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ ।

सभाले सुशासन ऐनसमेत पारित गरिसकेको छ । इटहरीको सामाजिक, शैक्षिक, आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उनले उपमहानगरवासीलाई आग्रह गरे । आफू सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ