मूलधारमा आएपछि डा.सीके राउतको पहिलो सम्बोधन हुँदै

राजनीति

3/31/2019

काठमाडौं, १७ चैत । पृथकतावादी अभियान छोडेर मूलधारको राजनीतिमा आएपछि डा.सीके राउतले पहिलोपटक सार्वजनिक जनसम्बोधन गर्न लागेका छन् ।

गत फागुन २४ गते नेपाल सरकारसँग ११बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएको घोषणा गरेदेखि अहिलेसम्म डा.राउतले कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

डा.राउतको मौनताभित्र ठूलो रहस्य रहेको र अझ पनि भित्री मनबाट स्वतन्त्र मधेश राष्ट्र निर्माण अभियान नत्यागेको लगायत विभिन्न किसिमका टिकाटिप्पणी भइरहेको छ ।

उनी किन कुनै अभिव्यक्ति दिइरहेको छैन, सहमतिबारे किन केही बोलिरहेका छैनन् लगायतका जिज्ञासा सर्वत्र छ । डा.राउतले गर्ने सम्बोधनबाट धेरैको जिज्ञासा मेटिन सक्छ ।

यही चैत ३० गते डा.राउत नेतृत्वको जनमत पार्टीले बृहत् जनसभाको आयोजना गरेको छ । चैत ३० गते सिरहा जिल्लाको मिर्चैया–५ स्थित मोहन उच्च माध्यमिक विद्यालयमा डा.राउतले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

सो जनसभामा डा.राउत मूलधारमा आएपछि पहिलोपटक सम्बोधन गर्नेछन् ।

सो सम्बोधनलाई विशेष महत्वका साथ हेरिएको छ । डा.राउत मूलधारमा आएपछि किन केही अभिव्यक्ति सार्वजनिक गरेनन् वा कुनै मिडियामा आउन चाहेनन्, यो अझै पनि रहस्य नै रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ