प्रदेश २ का कानुनमन्त्रीद्वारा शिक्षामन्त्रीको राजीनामा माग

राजनीति

3/29/2019


जनकपुरधाम, १५ चैत । प्रदेश २ मा दोस्रोपटक माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ सरकारले संघीय सरकारका शिक्षा मन्त्रीको राजनीनामा माग गरेको छ ।

एसइई सञ्चालन संघीय सरकार मातहत रहेको भन्दै प्रश्नपत्र बाहिरिने घटनामा संघीय सरकारले जिम्मा लिनुपर्ने प्रदेश सरकारको भनाइ छ ।


संघीय सरकारको निकायबाट प्रश्नपत्र बाहिरिएको भन्दै प्रदेश सरकारले संघीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रश्नपत्र बाहिरिने घटनामा प्रदेशको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर संघीय सरकारका निकायहरुले प्रश्नपत्र बाहिर ल्याएको भन्दै यादवले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।


‘हामीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेका छौं,’ मन्त्री यादवले भने,‘प्रदेशबाट प्रश्नपत्र बाहिरिएको देखिएन् । प्रदेश सरकारलाई बदनाम गर्न माथिबाटै षडयन्त्र भए जस्तो छ ।’

‘प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट परीक्षा सुरु हुनु एक घन्टाअघिमात्र परीक्षा केन्द्रहरुमा प्रश्नपत्र पठाइएको छ,’ उनले भने, ‘तर प्रश्नपत्र राती नै बाहिरिएको छ । प्रदेशको कमजोरी देखिएको छैन् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ