रौतहट, ३० चैत । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले शुक्रबार रौतहटमा प्रदर्शन गरेका छन् ।
विभिन्न ९ सूत्रीय माग राख्दै पार्टी केन्द्रीय कार्यालयले जारी गरेको निर्देशनअनुसार पार्टी कार्यकर्ताहरुले सरकारको विरुद्धमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको छन् ।
संविधान संशोधनको माग पूरा गर, सांसद रेशम चौधरीलाई रिहा गर लगायतका माग पूरा गराउन दबाब सिर्जना गर्ने उद्देश्यले राजपाका कार्यकर्ताहरुले प्रदर्शन गरेको हो ।
सदरमुकाम गौरस्थित मधेशी क्रान्ति चौकबाट निस्केको रैली नाराबाजी गर्दै नगरपरिक्रम गरेको थियो । गीता कुश्वाहाको नेतृत्वको विरोध रैली कोण सभामा परिणत भएका थिए ।
कोण सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरी, महासचिव एवं गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता, प्रदेश सांसद बाबूलाल साह लगायतका वक्ताहरुले सरकारले बहुमतको दम्भ देखाएर मधेशी जनताको अधिकार खोस्न लागेको आरोप लगाएका छन् ।
नेताहरुले सांसद रेशम चौधरीलाइ झूठा मुद्दा लगाएर फसाएको ठोकूवा गर्दै रिहा गरिनुपर्ने माग जिकिर गरेका छन् ।
तत्काल पार्टीले अघि सारेका माग पूरा गरिएन भने कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । रैलीमा पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको बढी सहभागिता देखिएको भएपनि सर्वसाधारणको संख्या न्यून देखिएको थियो ।
तपाईको प्रतिक्रिया