राजपा र समाजवादी एक भएर अब पहाड र हिमाल चढ्नु छ : यादव

राजनीति

2/4/2020

सर्लाही, २२ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले समाजवादी पार्टीसँग एकीकरण गरेर पहाड र हिमाल चढ्ने योजना रहेको बताएका छन् ।

पहिलो मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलबार आयोजित १४औं यादगारी दिवसको अवसरमा संयोजक यादवले यस्तो कुरा बताएका हुन् ।

उनले समाजवादी पार्टीसँग केही दिनमै एकता हुने दाबीसमेत गरेका छन् । मधेश तथा उत्पीडनमा परेका जनताको हितका लागि दुवै पार्टी एकता गर्न लागेको जिकिर गरे ।

संयोजक यादवले दुवै पार्टीबीच चरणबद्धरुपमा वार्ता हुदैं आएको र पार्टीको नाम, चुनाव चिन्ह तथा पार्टीको झण्डाको विषयमा सहमति भइसकेको बताएका हुन् । उनले महन्थ ठाकुर पार्टीको नेता हुने विषयमा सहमति भइसकेको समेत बताए ।

उनले कांग्रेस र कम्युनिष्टका एजेन्टहरु राजपा र समाजवादीबीच एकता नचाहेकोले ढिलाइ भइरहेको उनको जिकिर थियो । ‘दुवै पार्टी एक नभएसम्म मधेशी, मुस्लिम, थारु, जनजाति, दलित तथा उत्पीडनमा परेका वर्गको उत्थान हुँदैन’, उनले भने ।

साथै, उनले राष्ट्रियसभा चुनावका बेला भएको सहमति चुनावी परियोजनका लागि मात्र भएको समेत प्रष्ट्याएका छन् । संविधान संशोधन, सांसद रेशम लाल चौधरीको रिहाई र आन्दोलनकारीहरुमाथि लागेको झुठ्ठा खारेजी नभएसम राजपा सरकारमा नजाने स्पष्ट पारेका छन् ।

यादगारी दिवस कार्यक्रममा राजपाका केद्रीय कोषाध्यक्ष किरण देवी, राजपाका सह–महामन्त्री एवं सांसद प्रत्याशी राकेश मिश्र, केन्द्रीय सदस्य विजय यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ