राजपा संयोजक यादवले तानाशाही प्रवृत्ति देखाएको आरोप

राजनीति

8/28/2019

काठमाडौं, ११ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले तानाशाही प्रवृत्ति देखाएको आरोप लागेको छ ।

अध्यक्षमण्डलका संयोजक यादवले आगामी शुक्रबार र शनिबार राजनीतिक समितिको बैठक बोलाएको प्रति पार्टीकै नेता कार्यकर्ताहरुले आलोचना गर्न थालेका छन् ।

संयोजक यादवले एकलौटीरुपमा चरम गुटबन्दीलाई प्रश्रय दिएको र तानाशाहीरुपमा निर्णयहरु गर्न थालेको आरोप लागेको छ ।

राजपाका महासचिव केशव झाले संयोजक यादवले बोलाएको राजनीतिक समितिको बैठकप्रति असन्तुष्टि जनाउँदै भने, ‘संयोजक यादवले एकलौटीरुपमा पार्टीलाई चलाउन खोज्नुभएको छ । राजनीतिक समितिको बैठक बोलाउनका लागि सर्वप्रथम अध्यक्षमण्डलको बैठकमा सहमति हुनुपर्ने हो ।’

संयोजक यादवले अध्यक्षमण्डलमा सहमति नै नगरी तानाशाहीरुपमा राजनीतिक समितिको बैठक बोलाएको आरोप महासचिव झाको छ । झाले संयोजक यादवको यस्तो निर्णयप्रति आफूहरु आश्चर्यचकित रहेको मधेशवाणीलाई बताएका छन् ।

महासचिव झा भन्छन्, ‘कुनै पनि बैठक गर्नका लागि अध्यक्षमण्डलको सहमतिमा निर्णय गर्नुपर्छ । तर संयोजक यादवले तानाशाही प्रवृत्ति देखाउनुभयो ।’

यो बैठक सम्भव नरहेको महासचिव झाले दाबी गरेका छन् । पार्टीको सिस्टमविपरीत संयोजक यादवले राजनीतिक समितिको बैठक बोलाएको उनको आरोप छ ।

राजपाको राजनीतिक समिति २७ सदस्यीय रहेको र सात जना आमन्त्रित सचिवालय सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ