काठमाडौं, १४ माघ । राष्ट्रिय सभा निर्वाचनका क्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गरेको राष्ट्रिय जनता पार्टी नेपालले तत्कालै सरकारमा सहभागी नहुने बताएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले आफूहरुलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन् ।
नेता यादवले राजपाले तत्कालै सरकारलाई समर्थन गर्ने अवस्था समेत नरहेको स्पष्ट पारे ।
‘मधेशी जनतासँग सरकारले गरेको बाचा पूरा गर्नुपर्छ । सरकारले संविधान संशोधन गरोस्, २५ जना हाम्रा नेताहरु जेलमा छन् । राजपा मुद्दाका लागि गठन भएको पार्टी हो, सरकारमा जान होइन,’ नेता यादवले भने, ‘रेशम चौधरीलगायत अन्य नेता कार्यकर्ता पनि जेलबाट निकालियोस् । मुद्दालाई सम्बोधन गर्नुस्, हामी सरकारले चाहेका बेलामा फेरि पनि समर्थन गर्न सक्छौं । हामी त्यसका लागि तयार छौं ।’
संयोजक यादवले भने, ‘राजपा सरकारमा जाने सम्भावना छैन, मधेशी दललाई पालैपालो सरकारमा ल्याउने सरकारको चाहना हामीले बुझेका छौं । राजपा सरकारमा गए जनतालाई धोका हुन्छ ।’
तपाईको प्रतिक्रिया