रौतहट विकासको क्षेत्र अघि बढिसकेको छ : सांसद झा

राजनीति

4/20/2019

रौतहट, ६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य अनिल कुमार झाले पूर्वाधार विकासतर्फ रौतहट अघि बढिसकेको बताएका छन् ।

रौतहटको गौर नगरपालिका वडा नंबर २ महादेवपट्टीमा शुक्रबार मानव सेवा केन्द्रअन्तर्गत बृद्धा आश्रमको भवन निर्माणको शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै पूर्वमन्त्री झाले सामाजिक, आर्थिक विकास गर्नु पर्नेमा जोड दिए ।

सांसद झाले पूर्वमन्त्री एवं नेकपाका रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहप्रति व्यंगात्मक रुपमा कटाक्ष गर्दै ग्यास सिलिन्डर वितरण गरेर विकास नहुने टिप्पणी गरे ।

प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको भवनको सांसद झा र भौतिक पूर्वाधार तथा यातायात विकास राज्यमन्त्री डाक्टर डिम्पल कुमारी झा संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले बृद्ध आश्रम निर्माणका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

मानवको सेवा पुण्य कार्य भएको बताउँदै मेयर गुप्ताले व्यक्तिगत रुपमा ५१ हजार नगद सहयोग दिने घोषणा गरेका छन् ।

यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रकाश मुखिया मानव सेवा केन्द्रको स्थापना सराहनीय र उत्तम कार्य भएको टिप्पणी गरे ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, राजपाका सहमहासचिव अनिल कुमार सिंह, उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष देवप्रयाग गुप्ता लगायतले आआफ्नो धारणा राखेका थिए ।

मानव सेवा केन्द्रको भवनको दोस्रो पटक शिलान्यास गरिएको छ । पहिलो पटक वडा नम्बर १ स्थित रानी सती मन्दिरको जग्गामा शिलान्यास भई जग हाल्ने कार्य सम्पन्न भएको थियो ।

विना अनुमतिको बल जबर्दस्ती जग्गामा जग खडा गरेको भन्दै मन्दिरको महन्थले रौतहट जिल्ला अदालतमा मुद्दा गरेपछि अदालतले निर्माण कार्य नगर्न फैसला गरे पश्चात् लगानी गरिएको रकम खेर गरेको छ ।

दोस्रो पटक राम लक्ष्मण जानकी मन्दिरको ३ कठ्ठा जग्गामा मानव सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ