काठमाडौं, १६ माघ । पृथकवादी धार परित्याग गरी मूलधारको राजनीतिमा लागेका डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पनि स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा भाग लिने भएको छ ।
बिहीबार डा.राउतले आफ्ना पार्टीका विद्यार्थी संगठन ‘विद्यार्थी जनमत संघ’लाई त्रिभुवन विश्वविद्यालयको हरेक कलेजमा ईकाई कमिटी गठन गरेर भाग लिन आह्वान गरेका छन् ।
स्ववियु निर्वाचनमा विद्यार्थी जनमत संघले भाग लिएर विद्यार्थीहरुको अधिकारका लागि संघर्ष गर्ने निर्णय गरेको डा.राउतले सामाजिक सञ्जालमार्फत् सन्देश दिएका छन् ।
डा. राउतले भने, ‘त्रिविको जुन कलेजमा विद्यार्थी जनमत संघको ईकाई कमिटी छैन भने त्यो गठन गर्नुहोस् । स्ववियु निर्वाचनमा कसरी विजय हासिल गर्ने त्यतातिर लाग्नुहोस् ।’
यही आउँदो फाल्गुन १४ गते स्ववियु निर्वाचन हुन गइरहेको छ । त्यसको लागि मनोनयन दर्ता गर्ने मिति फाल्गुन ५ गते रहेको छ ।
त्रिभुवन विश्वविद्यालयका सबै आंगिक तथा सम्भवतः सम्बंद्धन प्राप्त कलेजहरुमा समेत स्ववियु निर्वाचन हुने भएको छ । यस निर्वाचनमा विद्यार्थी जनमत संघले पनि भाग लिने निर्णय गरेको छ ।
तसर्थ सम्पूर्ण आंगिक तथा सम्बंद्धन प्राप्त कलेजहरुमा विद्यार्थी जनमत संघको इकाई कमिटि गठन गरेर सबै ठाउँको स्ववियु निर्वाचनमा भाग लिएर विद्यार्थीको हक, हित र अधिकार सुनिश्चित गर्न डा. राउतले अनुरोध गरेका छन् ।
‘विद्यार्थी जनमत संघका प्रतिनिधिहरुको नभएका ठाउँमा केन्द्रीय अध्यक्षलाई जानकारी गराई तपाईहरु आफै इकाई कमिटि गठन गरेर सिधै विवरण इमेल गर्न सक्नु हुन्छ । प्रतिनिधिहरूको सम्पर्क नम्बर यहाँ राखिनेछ, त्यतिबेलासम्म अध्यक्ष पोषण यादवलाई सीधै सम्पर्क गर्न सक्नुहुन्छ ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया