‘लिम्बुवान किरात खम्बुवान प्रदेश नामकरण गराउन अब सशक्त आन्दोलन’

राजनीति

12/19/2019

काठमाडौं, ४ पुस । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन गर्ने भएको छ ।

गत मंसिर २९ र ३० गते सुनसरीको धरानमा सम्पन्न बैठकले प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिनका लागि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव अशोक चेम्जोङले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले सशक्त सडक आन्दोलन अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

‘निर्णायक आन्दोलनका लागि पहिचान पक्षधर सबै पार्टी, समुदाय, व्यक्ति, संस्था, नागरिक समाजसँग सहकार्य र गठबन्धन गरिने छ,’ चेम्जोङले भने, ‘साथै मञ्चका सबै जनवर्गीय संगठन, सबै तहका समिति र लिम्बुवान भोलेन्टियर्सहरूलाई आन्दोलनका लागि तयार राखिने छ ।’

महासचिव चेम्जोङले आन्दोलनलाई व्यवस्थित र निर्णायक बनाउन समिति गठन गरिएको बताए । ‘प्रदेश संयोजकको जिम्मा महासचिव शान्ता योङयाङलाई दिइएको छ, सदस्य सचिव राजु राई, सचिव गजेन्द्र चोङवाङ क्याक, संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर, नेताहरू अमर इजम, दिलु लिङदेन र धनबहादुर पन्धाक सदस्य रहनु भएको छ,’ चेम्जोङले भने ।

बैठकमा मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, मञ्चका अर्थसचिव विष्णुकुमार लिम्बु र दीपा लिम्बुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, प्रान्तीय अर्थ संयोजक तथा उपाध्यक्ष एबी पन्धाकले प्रस्तुत गरेको चुनावी आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

प्रवास समिति र अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चबाट आएका सुझावलाई पनि प्रतिवेदनमा समावेश गरेर पारित गरिएको जानकारी अध्यक्ष लिङदेनले दिए ।

यस्ता छन् मञ्चका अन्य निर्णय

मञ्चको बैठकले ७प्रदेशलाई संशोधन गरेर १० प्लस १प्रदेश कायम गराउनुपर्ने मागगर्दै त्यो नभएसम्मअसोज ३ गतेलाई कालो दिनका रुपमामनाउने निर्णय गरिएको महासचिव चेम्जोङले बताए।

मञ्चले उपनिर्वाचन परिणामलाई विश्लेषण गरी आगामी दिनका लागि रणनीति बनाउने निर्णय गरेको छ ।

‘यस बीचमा मञ्चको अधिकांश समय पहिचानसहितको संघीयता, प्रदेश १ को नामकरण, ऐतिहासिक विजयपुर बचाउ आन्दोलन, नयाँबानेश्वरमा पाँचदिने बृहत धर्ना, आरक्षण हटाउने लोकसेवा विरुद्धको लामो आन्दोलनमा खर्च भयो,’ चेम्जोङले भने, ‘पहिचानका लागि सडक आन्दोलन जारी राख्नुपर्ने भएकाले संगठन विस्तार अभियानमा कमी भयो, अब मञ्चले आन्दोलन र चुनावी तयारी एकैसाथ अघि बढाउने छ ।’

चैत्र पहिलो हप्तामा हुने अर्को प्रान्तीय बैठकमा लिम्बुवानका ९ जिल्लासहित २५ जिल्लाका सबै नगर, गाउँपालिकाहरुका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरुका सम्भावित उम्मेदवारहरुको नामावली अनिवार्य पेश गर्ने र मञ्चको ४ वर्षे योजनालाई सफल बनाउने निर्णय गरिएको जानकारी महासचिव चेम्जोङले बताए । ‘यो वर्षभरिमा थप १० हजार क्रियाशील सदस्य निर्माण गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ