लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न सकेनन् : प्रधानमन्त्री

राजनीति

4/22/2019

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशी हुनुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताए ।

“हाम्रो एकतामा कम्यूनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “किनभने यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्ययोजनाको एकता हो ।”

प्रधानमन्त्री ओलीले कुनै बेला कम्यूनिष्टहरुको अन्तर्राष्ट्रिय गीत ‘हामी जित्ने छौं एक दिन’ खुब गाउने गरेको प्रसंग निकाल्दै आज कम्यूनिष्टहरुले जितेको दिन भएको बताएका छन् ।

“त्यति बेला हामी जित्नेछौं । एक दिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं” प्रधानमन्त्री ओलीले भने “लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न सकेनन् । जब आफ्नो स्वार्थ गौण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्यूनिष्टले जित्यो ।”

प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेको बताए । “विगतमा काँग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविश्वास गर्ने र विरोधीहरुसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ति राम्रा काम गरिरहेको स्पष्ट पारे । “गान्धारीले आँखामा पट्टी बाँधेकी थिइन् र केही देख्दिनथिइन्” प्रधानमन्त्री ओलीले भने “अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेका छैनन् ।”

अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गत वर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पत्रकार शुभशंकर कंडेलले लेखेको पुस्तक अवतरणको अंग्रेजी संस्करण दि सेफ ल्याण्डिङ र एमाले माओवादी एकताका आधारको विमोचन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ