लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन राजपाले संसद अवरुद्ध गर्ने

राजनीति

3/13/2019

काठमाडौं, २९ फागुन । मधेश÷थरुहट आन्दोलनका क्रममा भएका घटनाहरुको छानबिनका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गराउन राष्ट्रिय जनता पार्टी नेपालले संसद अवरुद्ध गर्ने भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा राजपाका अध्यक्षमण्डलका संयोजक महेन्द्र यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

संयोजक यादवलाई जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले सरकारले आवश्यकताको आधारमा प्रतिवेदन सार्वजनिक गरिने जवाफ फर्काएका थिए ।

त्यसको जवाफमा संयोजक यादवले सरकार मनोमानी ढंगले मनलागे सार्वजनिक गर्ने र मन नलागे सार्वजनिक नगर्ने प्रवृत्ति भएकोले जसरी पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।

मंगलबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध गर्ने निर्णय भएको संयोजक यादवले मधेशवाणीलाई बताएका छन् ।

उनले भने, ‘हामीले सभामुखमार्फत् सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न भनेका थियौं । आज सभामुखले प्रतिवेदन सार्वजनिक गराउन पहल गर्ने भन्नुभएको छ ।’

उनले प्रतिवेदन सार्वजनिक नभए संसद चल्न नदिने बताएका छन् । सांसद रेशमलाल चौधरीमाथि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाले यसअघि नै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ