विखण्डनवादको मुद्दा नेपालबाट समाप्त भयो, दीपावली गरे हुन्छ : प्रधानमन्त्री

राजनीति

3/24/2019

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट विखण्डनवादको मुद्दा समाप्त भएको घोषणा गर्दै नेपालीले अब दीपावली मनाउनुपर्ने धारणा राखेका छन् ।

सरकारले डा.सीके राउत समूहसँग गरेको सम्झौताप्रति टिकाटिप्पणी भइरहेको भन्दै यो नेपालीका लागि ठूलो उपलब्धि रहेको जिकिर गरे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अधिवेशन समापनको मन्तव्य व्यक्त राख्दै प्रधानमन्त्री ओलीले भने, ‘विखण्डनवादको मुद्दा एकदम गम्भीररुपमा बढिरहेको थियो, त्यो मुलुकको हितमा थिएन ।’

उनले त्यस्ता समूहहरुसँग सम्झौता गरेर विखण्डनवादको मुद्दालाई नेपालबाट समाप्त गरेको दाबी गर्दै त्यो दिपावली मनाउन नसकेकाहरुले आज दिपावली मनाउँदा हुने बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र भिक्षा मागेर नल्याएको बताए । नेपाल कुनै हालतमा पछाडि फर्कन नसक्ने बताएका हुन् ।

“जोगीले फेरी लगाएजस्तो जनताले फालिसकेको राजतन्त्र ल्याउँछौं भन्दै केही मान्छे फेरी लगाएर हिंडेका छन्,” प्रधानमन्त्री ओलीले भने, “२५० वर्षअघि घलेहरुले बुझेका थिए, जन्मसिद्ध राजा हुँदैन । दौडेरै भए पनि जित्नै पर्छ ।”

प्रधानमन्त्री ओलीले प्रतिगमनको सम्भावना नरहेको उल्लेख गर्दै अनावश्यक चलखेल नगर्न सचेत गराए । “लोकतन्त्र भिक्षा मागेर ल्याएको होइन । गाई र त्रिशूल खेलेर ल्याएको होइन । गणतन्त्र रगत बगाएर ल्याएको हो,” प्रधानमन्त्रीको भनाइ छ, “राजतन्त्र–राजतन्त्र भनेर धेरै फट्याकफुटुक नगरे हुन्छ ।”

विप्लव समूहलाई पटक पटक हिंसात्मक गतिविधि त्याग्न आग्रह गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सरकारले बाध्य भएर उक्त समूहका गतिविधि प्रतिबन्धित गरेको उल्लेख गरे ।

“लोकतान्त्रिक अभ्यासको उच्चतम अभ्यास चुनाव हुन नदिने, निर्दोष मान्छे मार्ने, अंगभंग गर्ने, यस्तो नगर्न आग्रह गरियो,”विप्लव समूह कतै दर्ता नभएको बताउँदै भने, “त्यस समूहका आपराधिक क्रियाकलाप माथि निषेध गरिएको हो । त्यसो गर्दा कतिलाई हनहनी ज्वरो आयो । बम पड्काउन पाउने, चन्दाका नाममा लुट्न पाउने कुरा लोकतन्त्रको नाममा हुन्छ ?”

विप्लव समूहका गतिविधि सरकारले नियन्त्रण गरेरै छाड्ने बताउँदै प्रधानमन्त्रीले तोकिएको समयभित्र हतियार बुझाउन अपिल गरे । “यस्ता तत्वलाई राज्यले नियन्त्रण गर्छ, अब ब्याक गियर छैन,” उनले भने, “विप्लव समूहलाई हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु हतियार लिएर आए हुन्छ । दुई तिहाईको–दुई तिहाईको भनिन्छ, दुई तिहाईकै सरकारको हो, यस्तो जथाभावी हुन दिइँदैन ।”

अशान्तिको श्रृंखला लामो समय चल्न नदिने प्रधानमन्त्रीले स्पष्ट पारे । “कसैले कल्पना नगरे हुन्छ । निराशा छाडौ आशावादिताका साथ अघि बढौं,” उनले भने, “निराश जनता देशका लागि घातक हुन्छ ।”

प्रधानमन्त्री ओलीले विकासका कामले तीब्रता पाएको बताउँदै भने, “मेरो स्वभाव प्रश्न गर्ने होइन, उत्तर दिने छ । समस्या खडा गर्ने होइन, समाधान दिने बानी छ, त्यसकारण विकास किन भइरहेको छैन भनेर चिन्तन मनन गर्ने होइन विकास गरेर देखाइन्छ ।”

प्रधानमन्त्री ओलीले उपयुक्त समयमा गिरिशचन्द लालको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले प्रतिवेदन सार्वजनिक गर्नकै लागि आयोगको गठन भएको र सो प्रतिवेदन सरकारले अध्ययन गरिसकेपछि सार्वजनिक गर्ने बताएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ