बारा, २४ कार्तिक । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले भारतसँगको सीमा विवाद कुटनीतिक माध्यमाबाट टंग्याउनु पर्ने सुझाव दिएका छन् । नेपालको कालापानी र लिपुलेक लगायतका नेपाली भूभाग भारतीय नक्सामा परेको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्नुभन्दा कुटनीतिक माध्यमले सीमा विवाद टुंग्याउनु पर्नेमा उनको सुझाव छ ।
कलैयामा शनिवार पत्रकार सम्मेलन गरी मन्त्री सोनलले कुटनीतिक माध्यमबाट सीमा विवाद नटुंग्याई नेपाली जनताले भारतीय दूतावास अगाडि विरोध मात्रै गर्नाले केही उपलब्धि नहुने तर्क समेत गरे ।
प्रदेश मन्त्री सोनलले भारत विरुद्ध प्रदर्शन गर्नुभन्दा सीमा विवाद कुटनीतिक र राजनीतिक माध्यमबाट सुल्झाउन संघीय सरकारलाई आग्रह गरे ।
भारतसँगको सीमा विवाद सुल्झाउन संघीय सरकारमा अग्रसरता नदेखिएको आरोप मन्त्री सोनलले लगाए ।
नेपालको एक इन्च सीमा पनि भारतले मिचेको भए त्यो फिर्ता गर्नुपर्छ र त्यसको लागि भारतीय दूतावास अगाडि प्रदर्शन गरेर सिमित समुदायको व्यक्तिमाथि अपशब्द प्रयोग नगरि कुटनीतिक मर्यादा अपनाउनुपर्ने तिर संघीय सरकार लाग्नुपर्ने अवस्था रहेको उनले बताए ।
कुनै पनि दुई देशबीच सीमा विवाद हुँदा त्यसलाई पुरानो नक्सा र कुटनीतिक माध्यमले विवाद समधान गरिँदै आए पनि भारतले नेपाली सीमालाई आफनो नक्सामा पारेको प्रमाण देखाएर नेपाल सरकारले त्यसलाई फिर्ता गराउन कुटनीतिक पहल तत्काल थाल्नु पर्ने मन्त्री सोनलको भनाई छ ।
तपाईको प्रतिक्रिया