संघीयता असफल बनाउन पुराना शक्तिहरु लागिपरेका छन् : श्रेष्ठ

राजनीति

12/16/2019

काठमाडौं, ३० मंसिर । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालमा संघीय व्यवस्थालाई असफल पार्न पुराना शक्तिहरू लागिपरेको बताएका छन् ।

उनले देशमा व्याप्त भ्रष्टाचार, कमिशनतन्त्र र अनियमितताका कारण देशको विकासपछि परेको बताउँदै प्रतिगामी तत्वहरूले शीर उठाउन लागेकोमा चिन्ता व्यक्त गरे ।

काठमाडौँको बनस्थलीमा भएको सङ्घीयता र विकाससम्बन्धी अन्तर्क्िरया कार्यक्रममा उनले वर्तमान प्रधानमन्त्री आोली बोल्नमा शिरोमणी काममा कछुवा भएको संज्ञा दिए ।

श्रेष्ठले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी दुबै संघीयताको सन्दर्भमा दोहोरो चरित्र बोकेको पार्टी भएको आरोप लगाउँदै भने, ‘सुरुमा यिनीहरूले पहिचानसहितको सङ्घीयताको कुरा गरे, आफ्नो बहुमत आएपछि त्यसलाई त्यागे । तिनीहरूले बहुलता र समावेशिताको सन्दर्भमा पनि ओठेभक्ति मात्र देखाए । यिनीहरुले अङ्गीकार गरेको लोकतान्त्रिक समाजवाद र जनवाद दुबै मौलिक रूपमा एकात्मक प्रकृतिको छ । त्यसैले ती दुवै विचारधाराहरू सङ्घीय नेपालका लागि म्याद नाघेका औषधि जस्ता छन् । तिनीहरू नेपाली राजनीतिमा असान्दर्भिक भइसके ।’

पार्टीका वैचारिक नेताको रूपमा समेत परिचित श्रेष्ठले समाजवादी पार्टीले लिएको समुन्नत सङ्घीय समाजवाद ती विचारधाराहरू भन्दा गुणात्मक रूपमै भिन्न भएको बताउँदै समाजवादी पार्टीले राज्यको लोकतान्त्रिकरणमा मात्र नभई सङ्घीयकरणमा पनि जोड दिएको बताए ।

उनले भने, ‘हामीले जातीय उत्पीडनमा परेकाहरूलाई सङ्घीयता र वर्गीय उत्पीडनमा परेकाहरूलाई समाजवादको माध्यमबाट मुक्त गर्ने लक्ष्य लिएका छौँ । समुन्नत सङ्घीय समाजवाद एकाइसौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित नेपाली विशेषतायुक्त समाजवाद हो ।’

नयाँ युगको नेतृत्व गर्न समाजवादी पार्टी नै चाहिन्छ

नेता श्रेष्ठले भने, ‘नेपाली समाज बहुलतायुक्त छ । नेपाली समाजको संरचना अनरूप ती दुबै पार्टीले पार्टी र राज्यको ढाँचा निर्माण गर्न चाहेन । त्यसैले उत्पीडित राष्ट्रियताहरू उत्पीडनमा परेका छन् । त्यसलाई सम्बोधन गर्न पार्टी र राज्य दुबैमा जातीय÷सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशीकरणको आवश्यक छ । त्यसमा पुराना पार्टीहरू चुके ।’ उनले जोड दिए, ‘अब नेपाली काङ्ग्रेस र नेकपालाई उनीहरूले इतिहासमा गरेको कामको उच्च सम्मान गर्नु पर्छ, तर नयाँ युगको नेतृत्व गर्न समाजवादी पार्टी नै चाहिन्छ । जोत्न नसक्ने गोरुलाई लाट्ठी हानेर हुँदैन, जुवाको काँध फेर्नु पर्छ ।’

नेता श्रेष्ठले नेपालमा उल्टो चोर कटुवाले दाँत भनेजस्तो जसले जातीय राज्य चलाए तिनीहरूले नै पहिचानसहितका सङ्घवादीहरूले जातीय सङ्घीयता चाहेको भ्रम फैलाएकोमा आक्रोश व्यक्त गर्दै भने, ‘पहिचानसहितका सङ्घवादीहरूले जातीय राज्य खोजेको भन्नु महाभ्रम हो । यस्तो भ्रम फैलाउनेहरूको जन्मकुडली नै जातिवादी छ । हामीले पार्टी र राज्यको केन्द्रदेखि स्थानीय तहसम्म नै जस्तो समाज त्यस्तै पार्टी र जस्तो समाज त्यस्तै राज्य बनाउने नीति लिएका छौँ । यो नीति जातीय तथा क्षेत्रीय सङ्किर्णताबाट मुक्त छ । यसले नेपाली समाजको वस्तुगत चरित्रलाई पार्टी र राज्य दुबैमा प्रतिबिम्बित गर्छ ।’

सङ्घवाद र समाजवादलाई स्वीकार गर्ने सबै दलहरूसँग पार्टी एकता हुन सक्दछ

का.वा. अध्यक्ष श्रेष्ठले देशमा प्रत्यक्ष निर्वा्चित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि सबै तहमा अधिवेशनद्वारा प्रत्यक्ष निर्वा्चित अध्यक्ष र समानुपातिक समिति हुनु पर्ने कुरालाई अङ्गीकार गर्नुपर्ने बताएको छ ।

देशमा प्रत्यक्ष निर्वा्चित राष्ट्रपति हुनुपर्छ भन्ने तर पार्टीमा प्रत्यक्ष निर्वा्चित अध्यक्ष प्रणालीको आवश्यकता नठान्ने र त्यसरी नै देशमा पूर्ण समानुपातिक संसदको माग गर्ने तर पार्टीमा समानुपातिक प्रतिनिधित्वको कुरालाई अस्विकार गर्ने प्रवृत्ति गलत भएको बताए । उनले सबै तहका पार्टीका पदाधिकारीहरू पनि समावेशी रूपमा चयन हुनुपर्ने बताए ।

राष्टिय जनतापार्टीसँग सन्दर्भमा राखेको जिज्ञासाका सन्दर्भमा उनले भने, ‘पार्टी एकताको प्रश्न भनेको पार्टीको नीति, सिद्धान्त र विचारसँग जोडिएको कुरा हो । हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत सङ्घीय समाजवाद हो । सङ्घवाद र समाजवाद यसका दुई मुख्य आधार हुन् । यस सिद्धान्तलाई स्वीकार गर्ने सबै दलहरूसँग पार्टी एकता हुन सक्दछ । राजपासँग त अहिले पनि २ नम्बर प्रदेशमासहकार्य भइरहेकै छ । सिद्धान्तमा सहमति भए छिट्टै पार्टी एकता हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ