साझा पार्टीका नेता कार्यकर्ता गिरफ्तार

राजनीति

2/7/2020

काठमाडौं, २४ माघ । बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गर्न भेला भएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा कार्यकर्ताहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए, जुन सफल हुन सकेन ।

तर मुद्दा दायर गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा उनीहरूले सिठी जुलुसको आयोजना गरेका थिए ।

वर्तमान सरकारले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको साझा पार्टीको आरोप छ ।

‘शान्तिपूर्णरूपमा भेला हुन र विरोध गर्न पाउनु संवैधानिक हक हो,’ साझाका प्रवक्ता डा.सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीले सोही अधिकारको उपयोग गरिरहेको थियो । संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा ‘अनुदार लोकतन्त्र’तर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टी गर्दछ ।’

गिरफ्तारी भर्त्सना गर्दै सबै नेता तथा कार्यकर्तालाई तुरून्त रिहा गर्न साझा पार्टीले माग गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ