स्थापना दिवसमा नेविसंघद्वारा शैक्षिक सामग्री वितरण

राजनीति

4/20/2019

कपिलवस्तु, ७ बैशाख । नेपाल विद्यार्थी संघ कपिलवस्तुले गरिब, जेहेन्दार तथा विपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

नेविसंघको ५० औँ स्थापना दिवस मनाउने क्रममा बाणगंगाका २ विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर संघले स्थापना दिवस मनाएको हो ।

नेविसंघ सिद्धार्थ क्याम्पसका इकाई सभापति बुद्धि बहादुर रोकाको अध्यक्षता र नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सूर्योदय प्रा वी चप्परगाउँ र सिसहनीयाको बर्गदवा प्राविमा अध्ध्यनरत ६० जना बालबालिकालाई करिब ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो ।

पैसाकै अभावमा शैक्षिक सामग्री किन्न नसकेर शिक्षाजस्तो नैसर्गिक अधिकारबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने अभिप्रायले उनीहरुलाई झोला, कापी किताब, पेन्सिल, इरेजर र कटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुरेन्द्रराज आचार्यले सहयोग भन्ने कुरा कुनै पार्टीसंग सम्बन्धित नरहेकाले नेविसंघले आफ्नो दायित्व पुरा गरेको बताए ।

स्थापना दिवसमा आफ्नो खाजा खर्च कटाएर गरिब र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु सराहनयि कार्य भएको भन्दै सदैव विद्यार्थीको हकहितमा काम गर्न नेविसंघलाई उनले आग्रह गरे ।

पूर्वसिँचाई राज्यमन्त्री समेत रहेका आर्चायले नेविसंघले गर्ने शैक्षिक र सामाजिक कामम सदैव पार्टीले सहयोग गर्ने बताए ।

उनले वर्तमान सरकाले विद्यार्थी भर्ना अभियान चलाए पनि त्यो सीमित व्यक्तिका लागि मात्र भएको बताए ।

वास्तविक गरिब तथा पछि परेका समुदायका धेरै बालबालिकाहरु अझै पनि शिक्षाजस्तो अधिकारबाट बञ्चित रहेको भन्दै सबैलाई राष्ट्रको मूलधारामा समाहित गर्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सदस्य दुर्गा सेन, हरिराज घिमिरे, क्षेत्रीय सभापति एवम् बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, जिल्ला सदस्य रवि बहादुर काफ्ले, नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिँह ठकुरी, युवा नेता चन्द्रकान्त पोख्रेल लगायतले बोल्दै नेविसंघले स्थापना दिवसमा शैक्षिक सामग्री वितरण गरेर राम्रो काम गरेको भन्दै यो कुराको सिको अन्य दलका विद्यार्थी संगठनले पनि गर्न जरुरी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ