प्रदेश २ नामाकरण : सबै दल मधेश प्रदेश नजिक

राजनीति

2/16/2020

जनकपुरधाम, ५ फागुन । प्रदेश नं. २ को नामाकरणको विषयमा सबै राजनीतिक दलहरु मधेश प्रदेश नजिक पुगेका छन् ।

गत भदौ महिनामा दलहरुले नाम र राजधानीको विषयमा गरेको प्रस्तावहरु माथि सहमतिको क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजिक पुगेका हुन् ।

प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा सत्तारुढ समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुरा र केही सभासद्हरुले मध्यमधेश दर्ता गराए थिए । 

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक पटकको छलफल पछि दलहरु मधेश प्रदेश नजिक पुगेका छन् । सबै दलका संसदीय दलका नेताहरु समेतको सहभागितामा आइतवार सम्पन्न समितिको बैठक नामाकरणको विषयमा सहमति नजिक पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनु पर्नेमा अडिग रहेपनि सहमतिको लागी भन्दै नेकपाले जानकी मधेश र नेपाली कांग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् । 

प्रदेश नं. २ का मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्गयाउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिए । उनले मुलुकमा संघीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनु पर्ने बताए ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेस समेत मधेश नामलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै अगामी बैठकले टुंगो लाग्ने विश्वास व्यक्त गरे । यता प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफुहरु सहमतिको लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरे ।  

त्यसै गरि नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिको लागी मिथिला मधेश नाम अघि सारेको भएपनि सत्तापक्ष मधेश बाहेक केही सुन्नै नचाहेकोले आजको बैठक निष्कर्ष विहिन भएको बताए । उनले सहमतिको लागि आफुहरु सदैब तयार रहेको प्रतिक्रिया समेत दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ