‘समाजवादीसँग एकता प्रमुख विषय हो, त्यसपछि मात्रै महाधिवेशन’

राजनीति

9/25/2019

काठमाडौं, ८ असोज । राष्ट्रिय जनता पार्टी नेपालको तोकिएको मितिमा यसपटक पनि महाधिवेशन हुने सम्भावना टर्दै गएको छ । राजपाका अधिकांश नेता कार्यकर्ताहरु पहिला महाधिवेशन गर्नुपर्ने दबाब दिइरहँदा पनि तयारी देखिएको छैन ।

राजपा नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले मधेश र मधेशीको भावनालाई आत्मसात् गरी समाजवादी पार्टीसँग पार्टी एकीकरण आजको आवश्यकता रहेको बताएका छन् ।

उनले महाधिवेशनभन्दा पनि एकता महत्वपूर्ण कुरा रहेको जिकिर गर्दै मंगलबार सिरहाको लहानमा आयोजित एक कार्यक्रममा महतोले यस्तो धारणा राखेका हुन् ।

यसैगरी, राजपा अध्यक्षमण्डलका अर्का नेता महेन्द्र राय यादवको पनि यस्तै प्रकारका धारणा रहेको छ । उनले भने, ‘एकता प्रमुख विषय हो । वार्ताको टेबुलमा हामी छौं, यहाँ रहुन्जेलसम्म महाधिवेशनको वातावरण त बन्दैन ।’

‘एकता गर्ने र संयुक्त महाधिवेशन गर्नु सबैभन्दा उपयुक्त हुन्छ, यसरी गर्दा वैकल्पिक शक्ति निर्माण हुनसक्छ । मधेशको मात्र होइन यो राष्ट्रकै माग हो ।’ नेता यादवले मधेशवाणीसँगको कुराकानीमा बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले ६ पार्टी मिलेर राजपा नेपाल निर्माण ग¥यौं, त्यो देश र जनताको चाहना थियो । हामी ६ पार्टी त एक भयौं हाम्रो एउटा पार्ट समाजवादी पार्टी बाँकी नै छ । उसलाई पनि समेट्नुपर्छ भनेर हामीले मलेठ घटना हुँदा संकल्प गरेका थियौं ।’

उनले यो देशमा कांग्रेस र कम्युनिष्ट मधेश र जनजातिको मुद्दामा एक ठाउँमा उभिएकोले एक वैकल्पिक शक्तिको रुपमा आएर मधेशी जनजातिको मुद्दालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ