जनकपुरधाम, ७ असोज । नेपाली कांग्रेस नेता गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाउने गरेको आरोप लगाएका छन् । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याउन लागेको आरोप समेत लगाए ।
उनले विधेयक ल्याउनमा समाजवादी पार्टीले समेत सघाउने गरेको बताउँदै सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनेको बताए । नेता थापाले वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने बताए । संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्ने उनले बताए ।
उनले भने, ‘सडकको ताकतको आधारमा संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडि कांग्रेसले गर्छ ।’ नेता थापाले अब कांग्रेसको एउटै एजेण्डा २०७९ सालको चुनाव जित्ने चाहना तथा इच्छा रहेको बताए । ‘संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुन्छ,’ उनले भने, ‘त्यसैले अगामी चुनाव जितेर संविधान संशोधन काँग्रेसले गर्छ ।’
उनले चीनको राष्ट्रपति सि जिन पिङ नेपाल भ्रमणको पुर्वसंध्यामा नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले सि विचारधारा अबलम्ब गर्नुपर्ने धारणा राखेकोमा आपत्ति जनाए । उनले भने, ‘मोदी आएको बेला मोदी विचारधारा बोक्ने कुरा गर्छ । सि आउने बेला सि विचारधार बोक्ने कुरा गर्छ । यो सबै अलमलाउने खेल मात्र हो ।’
तपाईको प्रतिक्रिया