काठमाडौं, १६ पुस । नेपालले सीमा विवादबारे भारतसँग छलफल गर्न परराष्ट्र सचिवस्तरीय वार्ताको नयाँ मिति प्रस्ताव गरेको छ । यसमा भारतको सहमति भने आइसकेको छैन ।
भारतले राजनीतिक नक्सा प्रकाशित गर्दा नेपाली भूमि पनि आफ्नोतिर पारेपछि नेपालले विरोध गरेको थियो र मंसिर ४ गते कूटनीतिक नोट पनि पठाएको थियो ।
जसमा वर्षौको सीमा विवाद हल गर्ने उपयुक्त समय आएको भन्दै वार्ताका लागि मिति प्रस्ताव गरिएको थियो । भारतले त्यसको जवाफ पुस ३ गतेमात्रै पठायो, जतिबेला वार्ताका लागि प्रस्तावित मिति घर्किसकेको थियो ।
भारतको पत्रमा नेपालको प्रस्ताव स्वीकार गरी सीमा समस्या समाधानका लागि वार्तामा बस्न तयार भएको आशय प्रकट भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
नेपालले वार्ताका लागि अर्को मितिसमेत प्रस्ताव गरिसकेको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, ‘पहिला प्रस्ताव गरेको मिति घर्किसकेपछि अर्को प्रस्ताव गरेर पठाएका छौं र दुबै देशका पदाधिकारीहरु आपसी छलफलमा छौं ।’ उनले कूटनीतिक माध्यमबाटै सीमा समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया